विराटनगर / घर फुटाएर रकम चोरी गर्ने मोरङको कटहरी गाउँपालिका–१ का २२ वर्षीय सुरज कामतलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१ का मोतीराज दाहालको घरबाट १३ लाख ५० हजार रुपैयाँ चोरी गरेको घटनामा संलग्न रहेको पाइएपछि कामतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दाहालको घरबाट साउन ७ गते रकम चोरी भएको थियो ।
विराटनगर–१ बाटै पक्राउ परेका कामतको साथबाट तीन लाख ८१ हजार रुपैयाँ नगद र एक लाख पाँच हजार रुपैयाँ पर्ने सामसुङ मोबाइल सेट बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए । उनका अनुसार मोबाइल सेट चोरी गरेकै रकमबाट किनेको खुलेको छ । चोरी मुद्दा चलाउन सोमबार अदालतबाट म्याद थप गरेर कामतमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।