विराटनगर । मोरङको बूढीगंगामा रोकेर राखेको म्याजिक भेनमा मंगलबार राति आगलागी भएको छ ।
प्रहरीका अनुसार बूढीगंगा गाउँपालिका–२ मुस्लिम टोलमा प्रदेश १–०२–००१ ज ३९४१ नम्बरको भेनमा राति ८ बजेतिर आगलागी भएको हो । उक्त भेन सुनसरीको दुहबी नगरपालिका–२ का ४६ वर्षीय अजुवा मियाँको रहेको प्रहरीले जनाएको छ ।
भेन चालक उनी आफैं हुन् । प्रहरीका अनुसार मियाँले भेन ल्याएर बूढीगंगा–२ स्थित छोरी रोजितनी खातुनको घरको अगाडि रोकेर राखेका थिए । रोकेर राखेकै ठाउँमा अचानक आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
आगलागीको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर दीपक लिम्बू र इलाका प्रहरी कार्यालय नेमुवाबाट सइ प्रवीण खड्काको नेतृत्वमा खटिएको टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट भेनको इन्जिन, सीट र बडीको भाग जलेर क्षति पुगेको डीएसपी जोशीले बताए ।
आगलागीमा करिब ७ लाख बराबरको क्षति भएको अनुमान छ । घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।