मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवारी दिएकाविरुद्ध कुनै पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आगामी मंसिर १६ गतेको उपनिर्वाचनका लागि विभिन्न दलबाट १५ र स्वतन्त्र १ गरेर आइतबार १६ जनाको उम्मेदवारी परेको थियो । मनोनयनपत्र दर्ता गराएकाविरुद्ध उजुरीका लागि निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेको समय तोकेको थियो ।
अब एकैपटक मंगलबार साँझ ५ देखि ६ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन हुने छ । समयभित्र कुनै उम्मेदवारविरुद्ध उजुरी नपरेको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए । आयोगले तोकेको समयभित्रमा उम्मेदवारको नामावली प्रकाशन गरिने उनले बताए ।
ग्रामथानको अध्यक्षमा नेकपा (एमाले)बाट तुलसीराम विश्वास, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिनेशकुमार थन्दार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नवीनकुमार विश्वास, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट धर्मेन्द्रकुमार चौधरी, नेकपा (माओवादी केन्द्र)बाट नमोनारायण माझीले मनोनयन दर्ता गरेका छन् ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पर्शुराम विश्वास थारु, नेपाली कांग्रेसबाट बलराम सरदार थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा र कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहरले मनोनयन दर्ता गराए ।
समावेशी समाजवादी पार्टीबाट बोधनारायण माझी, जनता समाजवादी पार्टी नेपालबाट सुरेशकुमार राजवंशीले मनोनयन दर्ता गरेका थिए । त्यस्तै, नमनारायण चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी एमालेका बागी उम्मेदवार हुन् ।
२०७९ सालको स्थानीय तह चुनावबाट ग्रामथानको अध्यक्षमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । उनको गत असार ३ गते निधन भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।