विराटनगर : नेकपा (एमाले)कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त भएका छन् ।

सुनसरीको क्षेत्र नं. २ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका भण्डारीलाई सोमबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्री नियुक्त गरेका हुन् । उनले सोमबार साँझ नै प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिए ।

यसअघि तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले कात्तिक २१ गते राजीनामा दिएका थिए । विवादास्पद जापान भ्रमणका कारण उनले राजीनमा दिएसँगै आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्रीबिहीन थियो ।

अधिकारीमाथि मानव तस्करीको आरोप लागेपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । तर, मानव तस्करीमा संलग्न भएको प्रमाण फेला नपरेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उनीविरुद्ध मुद्दा नचल्ने निर्णय गरिसकेको छ ।

नवनियुक्त मन्त्री भण्डारीले कोशी प्रदेशमा बन्न बाँकी ऐन निर्माण गर्ने र ऐन कार्यान्वयन गर्ने आवश्यक नियमावली निर्माण गर्ने बताएका छन् । उनले नयाँ कानुन बनाउनुपर्ने भए प्रदेशसभामार्फत पहल लिने प्रतिबद्धता पनि जनाए ।

नेकपा (एमाले) सुनसरीका निवर्तमान अध्यक्षसमेत रहेका भण्डारी यसअघि संविधान सभा सदस्यसमेत भइसकेका छन् । उनी तत्कालीन १ नं. प्रदेश सरकारको संविधान मस्यौदा समितिको संयोजक भएरसमेत काम गरिसकेका छन् ।

खासगरी भण्डारी ०४३ सालतिर विद्यार्थी राजनीतिबाट उदाएका हुन् । उनी ०४६ सालको जन आन्दोलनमा सक्रिय सहभागी भएका थिए ।

०५४ को स्थानीय निकायको निर्वाचनमा तत्कालीन इटहरी नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका उनले ५६ सालमा भण्डारीले उपप्रमुख पदबाट राजीनमा दिएर प्रतिनिधिसभा सदस्यमा उठे । उनी त्यसबेला विजयकुमार गच्छदारसँग निर्वाचन लडेका थिए ।

तर, भण्डारी करिब साढे २७ सय मतान्तरले पराजित बने । उनी त्यतिबेला पार्टीको जिल्ला कमिटि सदस्य थिए । खासगरी भण्डारी गत निर्वाचनमा प्रतिनिधिसभा सदस्यको आकांक्षा राखेका थिए ।

तर, एमालेमा इतर पक्षका भीम आचार्य २ नं. क्षेत्रबाट निर्वाचन लड्ने भएपछि उनलाई प्रदेशमा टिकट दिइएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरका भण्डारीले अन्ततः मन्त्रीको चिट्ठा पाएका छन् ।

तपाईको प्रतिक्रिया