काठमाडौं । भारतीय अभिनेत्री रश्मिका मन्दाना शुक्रबारदेखि सलमान खानसँगको फिल्म ‘सिकन्दर’को अन्तिम छायांकनमा जुटेकी थिइन् । आयुष्मान खुरानासँगको फिल्म ‘थामा’को पनि उनले छायांकन थालेकी थिइन् ।

तर चोटको कारण उनका सबै फिल्मको छायांकन तत्काललाई रोकिएको छ । जिममा चोट लागेपछि रश्मिकाका सबै फिल्मको छायांकन तत्काललाई रोकिएको पिंकभिल्लाले उल्लेख गरेको छ ।

रश्मिका निकट स्रोतका अनुसार उनलाई व्यस्त तालिका पुनः थाल्नुअघि पूर्णरुपमा निको हुन छोटो ब्रेक गर्न सल्लाह दिइएको छ । उनी स्थिर रहेको र चाँडै सेटमा फर्किनेमा आशावादी रहेको जनाइएको छ ।

स्रोतले पिंकभिल्लालाई भन्यो, ‘रश्मिकालाई हालै जिममा चोट लागेको थियो । उनी आराम गरिरहेकी छिन् र स्वास्थ्यमा सुधार भइरहेको छ । छिट्टै सेटमा फर्किने आशावादी छिन् ।’

यसअघि मिड डेमा प्रकाशित रिपोर्टअनुसार सलमान र रश्मिकाले जनवरी १० मा मुम्बईमा सिकन्दरको अन्तिम चरणको छायांकन सुरु गर्ने तयारी गरेका थिए । यो फिल्म आउँदो मार्चमा रिलिज तयारीमा छ । रिलिजअघि नै फिल्मको पोस्टप्रोडक्सनका काम टुंगिनेमा निर्माता आशावादी छन् ।

अहिलेसम्मकै धेरै कमाउने भारतीय फिल्म बनेको ‘पुष्पा २’ पछि रश्मिका यतिबेला पुनः लाइमलाइटमा छिन् ।

तपाईको प्रतिक्रिया