बुढीगंगा गाउँपालिका–२, विराट टिचिङ अस्पताल परिसर आसपासको क्षेत्रमा व्यापारिक गतिविधि र सवारी पार्किङका कारण सर्वसाधारणको आवागमनमा गम्भीर समस्या उत्पन्न भएको भन्दै गाउँपालिकाले ७ दिनभित्र सडक अतिक्रमण हटाउन निर्देशन जारी गरेको छ।
गाउँपालिको कार्यालयमा दिनहुँजसो आउने जनगुनासोका आधारमा अस्पताल परिसर छेउछाउका सडक पेटीमा अवैध रूपमा व्यापार, व्यवसाय सञ्चालन गरिएको र सडकको दायाँ–बायाँ अनियमित पार्किङ गरिँदा सवारी दुर्घटनाको जोखिम उच्च भएको पाइएपछि सूचना सार्वजनिक गरिएको हो।
गाउँपालिकाले जारी गरेको सूचनामा भनिएको छ — “सडक पेटी तथा सडक अतिक्रमणका कारण सर्वसाधारणको आवतजावतमा अवरोध सिर्जना भएको र दुर्घटनाको जोखिम बढेको हुँदा ७ दिनभित्र सडक क्षेत्रभित्र रहेका संरचना हटाई व्यवस्थित तवरले मात्र व्यवसाय सञ्चालन गर्नुपर्नेछ।”
निर्धारित समयभित्र संरचना नहटाइएमा लागू प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत सूचना मार्फत दिइएको छ। गाउँपालिकाले अस्पताल क्षेत्र संवेदनशील भएकाले सर्वसाधारण, एम्बुलेन्स र बिरामीको आवाजाही सहज बनाउन सम्बन्धित व्यवसायीहरूको पूर्ण सहयोग आवश्यक रहेको जनाएको छ।
यसअघि पनि अस्पताल क्षेत्रलगायत व्यस्त स्थानहरूमा बारम्बार सडक अतिक्रमणका विषयमा जनगुनासो उठ्ने गरेकाले यसपटक कडाइका साथ निरीक्षण र अनुगमन गरिने गाउँपालिकाले जनाएको छ।
















