सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका ६ घुरुन्दु नयाँपानीस्थित भित्री सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
सोमबार दिउँसो करिब १२ बजे माप्य दूधकोशी गाउँपालिका ६ वाकु चोकबाट वडा ७ वरोदी रोचमतर्फ जाँदै गरेको बिएडी ७७४२ नम्बरको डबल क्याप बोलेरो जिप सडकबाट करिब १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
दुर्घटनामा बोलेरो चालक माप्य दूधकोशी गाउँपालिका ५ निवासी २८ वर्षीय प्रदीप राई र यात्रु २८ वर्षीया कुशुम राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।मृतक दुवैको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको डीएसपी मनोजित कुँवरले जानकारी दिए।दुर्घटनामा घाइते भएका २७ वर्षीय बलराम राई, ३० वर्षीय देवेन्द्र राई र ३१ वर्षीय सुरेश राईको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ।
अन्य घाइते १९ वर्षीय मनोज राई र १७ वर्षीय सन्दीप राईको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ।यस्तै, २७ वर्षीया देविका राई र २७ वर्षीया सविना राईको अवस्था सामान्य रहेकाले वाकु स्वास्थ्य चौकीमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ
















