काठमाडौँ : इजरायल र इरानबीच शनिबारदेखि सुरु भएको सैन्य आक्रमणले खाडी क्षेत्रको सुरक्षा अवस्था तनावग्रस्त बनेपछि त्यहाँ कार्यरत करिब १९ लाख नेपाली श्रमिक चिन्तित भएका छन् । इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि इरानले अमेरिकीलक्षित प्रत्याक्रमण सुरु गरेको हो ।
खाडीस्थित कतार, साउदी अरब, बहराइन, कुवेत र संयुक्त अरब इमिरेट्स (यूएई)मा अमेरिकाका सैन्य बेस रहेका छन् । ओमानबाहेक पाँच देशका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै इरानले प्रत्याक्रमण गरिरहेको जनाइएको छ ।
खाडी क्षेत्रमा नेपालीको उल्लेख्य उपस्थिति छ । यूएईमा करिब ९ लाख, साउदी अरबमा ३ लाख ८४ हजार, कतारमा ३ लाख ६० हजार, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा ३० हजार र ओमानमा २५ हजार नेपाली कार्यरत छन् । त्यसैगरी, इराकमा २५ हजार, इजरायलमा ५ हजार र लेबनानमा १ हजार नेपाली रहेको तथ्यांक छ ।
इरानको प्रत्याक्रमणका क्रममा यूएईमा एक एसियाली आप्रवासी श्रमिकको मृत्यु भएको जनाइएको छ । परिचय खुल्न नसकेका ती श्रमिकको इरानी मिसाइल निस्तेज गर्ने क्रममा झरेको टुक्रा लागेर ज्यान गएको बताइएको छ ।
यूएई सरकारले आफ्ना नागरिक तथा आप्रवासीको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको जनाएको छ । यूएईस्थित नेपाली दूतावासले अनावश्यक यात्रा नगर्न, सतर्कता अपनाउन तथा स्थानीय सरकारले जारी गरेको सुरक्षा निर्देशन पालना गर्न अनुरोध गरेको छ ।
nemato
इरानले दोहास्थित उदइद एयर बेसलाई लक्षित गरी प्रहार गरेको मिसाइललाई कतारले आकाशमै निस्तेज पारेको थियो । त्यसको टुक्रा आप्रवासी श्रमिक बसोबास गर्ने क्याम्प क्षेत्रमा खस्दा आगलागी भएको थियो । केही सवारीसाधन जले पनि मानवीय क्षति नभएको जनाइएको छ ।
दोहामा चार वर्षदेखि कार्यरत हरि अधिकारीले निस्तेज पारिएको मिसाइलको टुक्रा आफू बस्ने स्थानदेखि करिब सय मिटर टाढा खसेको बताए । “आकाशमा ठूलो आवाज आएपछि बाहिर निस्किएँ । त्यतिबेला मिसाइलको टुक्रा घुम्दै तल झरिरहेको देखें । भागेर जोगिन सफल भइयो,” उनले भने ।
इरानी प्रत्याक्रमणपछि कतारले ‘अन्तर्राष्ट्रिय कानुनअनुसार जवाफ दिने अधिकार सुरक्षित’ रहेको प्रतिक्रिया दिएको छ । कतारी भूभागलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल प्रहार गर्नु राष्ट्रिय सार्वभौमिकताको गम्भीर उल्लंघन भएको भन्दै उसले सम्पूर्ण खाडी क्षेत्रको सुरक्षा र स्थायित्वमा खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएको छ ।
कतार सरकारले अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ । कतारस्थित गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष रमेश भट्टले स्थानीय प्रशासनको सूचनाअनुसार आफूहरू सतर्क रहेको बताए । “केही कार्यस्थल बन्द छन् । हामी कोठामै सुरक्षित बसिरहेका छौं,” उनले भने ।
बहराइनको राजधानी मनामास्थित अमेरिकी नौसेनाको शिविरनजिक विस्फोट भएको जनाइएको छ । त्यहाँ कार्यरत पदम सुन्दर गुरुङका अनुसार बिहान साढे ११ देखि साढे १२ बजेसम्म लगातार विस्फोटको आवाज सुनिएको थियो ।
कुवेतको विमानस्थल क्षेत्रमा ड्रोन आक्रमण हुँदा केही श्रमिक घाइते भएको समाचार छ । इजरायलमा कार्यरत श्रीकृष्ण भण्डारीले आफूहरू सुरक्षित रहेको जानकारी दिएका छन् ।
कतारका लागि कार्यवाहक नेपाली राजदूत कुमार राईले सबै नेपालीलाई जहाँ जुन अवस्थामा छन्, त्यहीँ सुरक्षित रूपमा बस्न आग्रह गरिएको बताए । परराष्ट्र मन्त्रालयले इजरायल, इरान तथा खाडी क्षेत्रमा बसोबास गर्ने नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।
आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
















