मोरङ : मोरङको जहदा गाउँपालिका–४ सोहल टोलमा श्रीमतीमाथि निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २७ वर्षीया सविता मण्डलमाथि ३५ वर्षीय श्रीमान् अमित मण्डलले गत बिहीबार राति कुटपिट गरेका थिए। सविताको मुखमा कपडा कोचेर कुटपिट गरिएको आरोप छ।
कुटपिटबाट सविताको नाकको हड्डीमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
उनलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो। उपचारपछि पनि नाकबाट रगत बग्ने समस्या रहेको पीडितको भनाइ छ।घटनामा परिवारका अन्य सदस्यहरूको समेत संलग्नता रहेको भन्दै पीडित पक्षले किटानी उजुरी दिएको छ। उजुरीका आधारमा प्रहरीले आइतबार अमितलाई पक्राउ गरेको हो।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्द चौधरीले पक्राउ पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको र अन्य आरोपितहरूको खोजी भइरहेको जानकारी दिए।
पीडितकी बहिनी मधुकुमारी मण्डलका अनुसार सविताका जेठाजु सन्दीप मण्डल, देवर रवीशंकर मण्डल र सासू-ससुरा मिलेर सामूहिक आक्रमण गरेका थिए।
सवितामाथि पहिले पनि पटक–पटक यातना दिइँदै आएको मधुकुमारीले बताइन्।
सविता हाल आफ्ना दुई छोरीसहित माइतीमा बसेकी छन्। पीडित पक्षले संलग्न सबैलाई कानुनी कारबाही गर्न माग गरेको छ।प्रहरीले भने घटनामा संलग्न अन्य व्यक्तिको खोजी तीव्र पारिएको जनाएको छ।

तपाईको प्रतिक्रिया