विराटनगर । मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार डा. शेखर कोइरालालाई विजयी गराउन जेनजी पुस्ता सक्रिय रूपमा चुनावी मैदानमा उत्रिएको छ। पुस्तान्तरणको कुरा मात्रै होइन, स्पष्ट विचार, निष्ठा र दूरदृष्टिका कारण डा. कोइराला जेनजीदेखि ज्येष्ठ पुस्तासम्मको साझा रोजाइ बन्दै गएका छन्।

कांग्रेसभित्र जेनजीका सवालमा सबैभन्दा पहिला आवाज उठाउने नेता नै डा. शेखर कोइराला भएको मोरङ सुन्दरहरैंचाका रुपेश बस्नेत बताउँछन्। “हावाको पछि लाग्ने होइन, वास्तविक जेनजीको भावना बुझ्ने र त्यसलाई नीतिमा उतार्न सक्ने नेता आजको आवश्यकता हो,” उनले भने।

आफू कुनै पनि राजनीतिक दलसँग आबद्ध नरहेको बताउँदै बस्नेतले डा. कोइरालाप्रति व्यक्तिगत आस्था व्यक्त गरे। “पार्टीभित्रका विकृतिमात्र होइन, देशव्यापी बेथितिमाथि पनि उहाँ सधैं स्पष्ट र निर्भीक रूपमा बोल्दै आउनु भएको छ,” उनले बताए।

बूढीगंगा गाउँपालिका–४ का सन्तोष माझीले अहिलेसम्म स्वच्छ छवि बनाएका नेता डा. शेखर कोइरालालाई जिताउनु समयको आवश्यकता भएको बताए। “सुशासन, भ्रष्टाचार अन्त्य र रोजगारी सिर्जनाजस्ता मूल मुद्दामा उहाँको दृष्टिकोण स्पष्ट छ,” माझीले भने, “त्यसैले जेनजीदेखि ज्येष्ठ पुस्तासम्मले उहाँलाई भोट दिनेमा म विश्वस्त छु।”

विराटनगर–५ का सुवास यादवले पनि मोरङ–६ ले डा. शेखर कोइराला जस्ता राष्ट्रिय स्तरका नेता पाउनु ठूलो उपलब्धि भएको बताए। “उहाँ संसदमा पुग्नुभयो भने विराटनगर मात्र होइन, समग्र कोशी प्रदेशको प्रतिष्ठा अझ उचाइमा पुग्छ,” यादवले उल्लेख गरे।

टंकीसिनुवारी, मोरङका जेनजी प्रतिनिधि सुदर्शन आचार्यले डा. शेखर कोइरालाप्रति व्यक्तिगत अनुभूति जोड्दै समर्थन जनाए। “मेरो बुवालाई मुटुको समस्या थियो। शेखर कोइरालाको पहलमा टंकीसिनुवारीमै निःशुल्क उपचार सम्भव भयो,” उनले भने, “उहाँकै सिफारिसमा नोवेल अस्पतालमा थप उपचार भयो र अहिले बुवा पूर्ण रूपमा स्वस्थ हुनुहुन्छ।”

राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने हैसियत, स्पष्ट विचार र जनतासँगको मानवीय सम्बन्धका कारण मोरङ–६ मा डा. शेखर कोइरालाको विकल्प नभएको जनमत विस्तार हुँदै गएको छ। जेनजीदेखि ज्येष्ठ पुस्तासम्मको भरोसासहित उनी यस क्षेत्रका सबैभन्दा बलिया उम्मेदवारका रूपमा स्थापित हुँदै गएका छन्।

तपाईको प्रतिक्रिया