उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टारस्थित शान्ति चोकमा भीषण आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ । मृतकहरु हजुरबुवा र नाति रहेको रहेको प्रहरीले जनाएको छ । एक जना महिला घाइते भएकी छन् ।
आगोले जलेर ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको उदयपुरका प्रहरी प्रमुख एसपी राजन चापागाईंले बताए । उनका अनुसार मृतकहरु पवन लक्ष्मीनारायणको छोरीका छोरा हुन् ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब पौने ३ बजेदेखि लक्ष्मी नारायण खड्काको घरबाट आगो सुरु भएको थियो । रातको समयमा सबैजना सुतिरहेको अवस्थामा आगो फैलिँदा उनीहरू बाहिर निस्कन नपाएको बताइएको छ ।
आगलागीमा अस्मिता खड्का घाइते भएकी छन् । उनको बेल्टार नगर अस्पतालमा उपचार भइरहेको छ । आगलागीले लक्ष्मीनारायण खड्काको घरसँगै रविनकुमार दास र सकल देवको घर पनि पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

















