झापा : भारतको पश्चिम बंगालमा हुन लागेको विधानसभा निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै पूर्वी नेपालका दुई प्रमुख सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको छ।
झापाको काँकरभिट्टा र इलामको पशुपतिनगर नाका सोमबार साँझ ६ बजेदेखि आगामी बिहीबार राति १२ बजेसम्म पूर्ण रूपमा बन्द रहने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।
भारतीय पक्षबाट प्राप्त औपचारिक पत्राचारपछि उक्त निर्णय लागू गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए।
दार्जिलिङ जिल्ला प्रशासनले जारी गरेको सूचनाअनुसार निर्वाचन अवधिभर सीमावर्ती आवतजावत नियन्त्रण गर्न नाका बन्द गरिएको हो। यस अवधिमा सर्वसाधारणको आवागमन तथा सवारी सञ्चालन पूर्ण रूपमा रोकाइनेछ।
यद्यपि, अत्यावश्यक सेवा प्रभावित नहुने गरी केही अपवादहरू राखिएका छन्। बिरामी, अशक्त तथा आपत्कालीन अवस्थाका व्यक्तिलाई आवश्यक कागजातसहित आवतजावत गर्न दिइनेछ भने विदेशी पर्यटकलाई सहजीकरण गरिने जनाइएको छ। साथै, छिट्टै नष्ट हुने खाद्यान्न बोकेका सवारीसाधनलाई पनि अनुमति प्रदान गरिनेछ।
सुरक्षा निकायबीच समन्वय गरी आपत्कालीन अवस्थामा नाका वारपार गराउने व्यवस्था मिलाइने प्रशासनले जनाएको छ। यसैबीच, झापाको भद्रपुरस्थित गलगलिया नाका भने खुला रहनेछ।

















