विराटनगर /विराटनगरको रंगेली रोडस्थित प्रतिष्ठित शैक्षिक संस्था मेरिल्याण्ड कलेजले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई एक समारोहका बीच बिदाई गरेको छ।

आगामी वैशाख १४ गतेदेखि सञ्चालन हुने वार्षिक परीक्षामा सहभागी हुन लागेका व्यवस्थापन संकायका विद्यार्थीहरूलाई कलेजले आज शुभकामनासहित बिदाई गरेको हो।

कलेजका प्रिन्सिपल लक्ष्मण ढकालका अनुसार व्यवस्थापन संकायको २३औँ ब्याचका ६८७ जना विद्यार्थीहरूलाई बिदाइ गरिएको हो। कार्यक्रममा बोल्दै प्रिन्सिपल ढकालले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि मेरिल्याण्डका विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याएर कलेज र सहरकै गरिमा बढाउने विश्वास व्यक्त गरे ।

यसअघि २०८० सालको कक्षा १२ को परीक्षामा ३.९६ जीपीए ल्याएर यस कलेजका विद्यार्थीद्वय रीतिमा कठेत र राजीव कुमार यादव नेपाल प्रथम हुन सफल भएका थिए। सोही सफलताको विरासतलाई यस वर्षका विद्यार्थीहरूले पनि निरन्तरता दिने अपेक्षा कलेजले राखेको छ।

कार्यक्रममा कलेजका अध्यक्ष गुणराज ढुङ्गेलले विद्यार्थीहरूलाई सफलताको शुभकामना दिँदै कलेजमा सिकेको ज्ञान र अनुशासनलाई परीक्षा हलमा उच्च मनोबलका साथ प्रस्तुत गर्न आग्रह गरे । उनले विद्यार्थीहरूको मेहनतले नै मेरिल्याण्डलाई देशकै उत्कृष्ट कलेजको रूपमा स्थापित गरेको बताए ।

बिदाइ कार्यक्रममा कलेजका निर्देशकहरू प्रा.डा. पी.के. झा, डा. मनोज गुप्ता, भेषराज पोखरेल, नन्दकिशोर अग्रवाल, प्रदीप भगत, डा. शिवनारायण यादव र जयराज राजवंशी लगायतको उपस्थिति रहेको थियो। उनीहरुले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिए ।

लामो समयदेखि विराटनगरमा व्यवस्थापन र विज्ञान संकायमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको मेरिल्याण्ड कलेज यस क्षेत्रकै अग्रणी शैक्षिक संस्थाको रूपमा परिचित छ।

तपाईको प्रतिक्रिया