सर्लाही : उपसभामुख रुवीकुमारी ठाकुरले मधेसमा जरा गाडेर बसेको दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर संघर्ष गर्ने बताएकी छन् । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आयोजना गरेको बालविवाह तथा दाइजो प्रथा उन्मूलन कार्यक्रममा बोल्दै उनले यी कुरीति मधेसबाट मात्र होइन, देशभरबाट अन्त्य हुनुपर्नेमा जोड दिइन् ।

उपसभामुख ठाकुरले छोरीलाई बोझका रूपमा हेर्ने सोचकै कारण बालविवाह र लैङ्गिक विभेद कायम रहेको उल्लेख गर्दै मधेसले छोरीलाई सम्मान गर्न सिक्नुपर्ने बताइन् ।

“माता सीताको जन्मभूमिमा छोरी जन्मनु सौभाग्यको कुरा हो,” उनले भनिन्, “छोरी जन्मिँदा दुःखी हुने मानसिकता परिवर्तन हुनुपर्छ ।”

उनले दाइजो र बालविवाहले पारिवारिक विखण्डन बढाउने उल्लेख गर्दै पछिल्लो समय किशोरकिशोरी घर छाड्ने प्रवृत्ति बढिरहेकोप्रति पनि चिन्ता व्यक्त गरिन् । अभिभावकको सुझावलाई विद्रोहका रूपमा नलिन युवापुस्तालाई आग्रह गर्दै उनले परिवार र समाजबीच संवाद आवश्यक रहेको बताइन् ।

कार्यक्रममा सर्लाही–१ बाट निर्वाचित सांसद नीतिमा कार्की भण्डारीले दाइजो र बालविवाहजस्ता कुरीति शिक्षा र चेतनाको अभावका कारण अझै कायम रहेको बताइन् । उनले छोरीलाई शिक्षित बनाउनु नै यस्ता विकृति अन्त्य गर्ने प्रभावकारी उपाय भएको धारणा राखिन् ।

कार्यक्रममा मधेस प्रदेशका विभिन्न स्थानीय तहका उपाध्यक्ष र उपप्रमुखहरूको सहभागिता रहेको थियो । सो अवसरमा २० वर्षपछि छोरीको विवाह गर्ने अभिभावक, बुहारीलाई स्नातक तहसम्म पढाउने परिवार तथा बिना दाइजो विवाह गर्ने जोडीलाई सम्मान गरिएको थियो ।

चन्द्रनगर गाउँपालिकाले २० वर्षपछि विवाह गर्ने छोरीलाई विवाह मण्डपमै पुगेर ५० हजार रुपैयाँसहित सम्मान गर्दै आएको छ । साथै कक्षा १२ सम्म अध्ययन गर्ने छोरीलाई प्रोत्साहनस्वरूप ११ हजार रुपैयाँ उपलब्ध गराउने कार्यक्रम पनि सञ्चालन गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया