सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका-१ मा गोली चलेको छ । केहीबेर अघि गोली चलेको खबर आएपछि अहिले प्रहरी घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिए ।
गोली के कारणले चलेको भन्नेबारे नखुलेको उनले बताए ।
‘अहिले प्रहरीको टोली पनि त्यहाँ पुग्दैछ, घटना के कारणले भएको भन्ने खुलेको छैन,’ सीडीओ अर्यालले भने ।
एक जनाको तिघ्रामा गोली लागेको खबर आएको सुनसरी जिल्ला प्रहरी कार्यालयका डीएसपी चन्द्र खड्काले बताए ।
उनले पनि घटनाको कारणबारे बुझ्ने काम भइरहेको बताए ।
स्थानीयहरूले गोली चलेको खबर गरेपछि प्रहरी त्यसतर्फ गएको हो । घाइते भएका युवालाई अस्पताल लगिएको छ ।
उनलाई विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको
जनाइएको छ । शनिबार साँझ सुनसरीको देवानगन्ज गाउँपालिका–१ स्थित भएको गोली प्रहारबाट सोही ठाउँका १९ वर्षीय निरज यादव घाइते भएको बताइएको छ ।
गोली किन र कसले चलाएको भन्ने विषयमा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।























