बिर्तामोड। झापाको बिर्तामोडमा सञ्चलित गन्तव्य क्लब एन्ड बारमा ग्राहकलाई बाउन्सरसहितको समूहले कुटपिट गरेको आरोपमा सञ्चालकसहित सातजनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी परेको छ ।
गन्तव्यमा यसअघि पनि पटकपटक झगडा पर्दै आएको थियो । क्लबका सञ्चालक निर्भिक शिवाकोटी, बाउन्सर हेड सञ्जीव धिमालसहित अमिर चौधरी, करण धिमाल, मानबहादुर धिमाल, अभिषेक धिमाल र लक्ष्मण धिमाललाई विपक्षी बनाइएर जाहेरी दर्ता भएको छ ।
जाहेरीअनुसार २०८३ असोज २ गते राति सरोज लावतीलाई क्लबभित्रै बियरको बोतललगायतका सामानले टाउको तथा शरीरका विभिन्न भागमा प्रहार गरिएको आरोप छ । घटनामा सरोजको टाउकोमा गम्भीर चोट लागेर १० टाँका लगाइएको जाहेरीमा उल्लेख छ ।गन्तव्यमा कुटपिट र झडपको घटना सार्वजनिक भएको यो पहिलोपटक भने होइन । यसअघि पनि क्लबमा झडप तथा कुटपिटका घटना सार्वजनिक भएका थिए ।
गन्तव्य डान्स बारमा झडप हुँदा दुईजना घाइते भएको र कुटपिटमा संलग्न भएको आरोपमा तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सञ्चालक शिवाकोटीलाई प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको थियो ।यसपटकको जाहेरीमा पीडित पक्षले घटनाको सिसी टिभी फुटेज सुरक्षित राखी अनुसन्धान गर्न, घटनामा संलग्न अन्य व्यक्तिको पहिचान गर्न तथा दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ ।

तपाईको प्रतिक्रिया