सुनसरीको इनरुवामा मध्यराति काउली (बन्दाकोपी) बोकेको ट्रकबाट बरामद गरिएको गाँजा २५ सय ६६ किलोभन्दा बढी भएको छ ।
तौल लिँदा गाँजा २ हजार ५ सय ६६ किलो ५ सय ६० ग्राम भएको सुनसरी प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर हेमराज ओलीले बताए । ट्रकमा लोड गरिएको बन्दाकोपीको बीचमा लुकाएर लैजाँदै गरिएको गाँजा बरामद गरेर ट्रक चालक र सहचालकलाई पक्राउ गरिएको जानकारी उनले दिए ।
यसअघि तौल लिनुभन्दाअघि प्रहरीले गाँजा २४ सय ९० किलो भएको हुन सक्ने अनुमान गरेको थियो । इनरुवा नगरपालिका–३ स्थित सखुवागाछी चोकमा चेकजाँच गर्ने क्रममा ना ७ ख १८२५ नम्बरको ट्रकबाट आइतबार राति ११ः५० बजेतिर ८३ वटा बोरामा प्याक गरिएको अवस्थामा गाँजा बरामद भएको इन्स्पेक्टर ओलीले बताए । उनका अनुसार धनकुटाको सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय राजु राईले चलाएको उक्त ट्रक पूर्वबाट पश्चिमतर्फ जाँदै थियो ।
ट्रकको पछाडिको भागमा काउली राखिएको र त्यसको बीचमा लुकाएर ओसारपसार भइरहेको अवस्थामा गाँजा फेला परेको जानकारी ओलीले दिए । ट्रकलाई नियन्त्रणमा लिएर गाँजा बरामद गर्दै प्रहरीले चालक राईसँगै सहचालक सहिदभूमि गाउँपालिका–२ का १८ वर्षीय सदीप राईलाई पक्राउ गरेको छ ।
दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । बरामद गाँजा, ट्रक, चालक र सहचालकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।शब्जी (तरकारी)को आडमा ठूलो परिमाणमा गाँजा ओसारपसार भइरहेको खुलेपछि प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ । गाँजा कहाँबाट ल्याइएको र कुन ठाउँमा लगिएको हो भन्ने यकिन छैन । थप विषय अनुसन्धानपछि यकिन हुनेछ ।
धनकुटासमेतका पहाडी जिल्लामा उत्पादन हुने गाँजा भारततर्फ कटाउन तरकारी बोकेको ट्रकमा लुकाएर ल्याइएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

तपाईको प्रतिक्रिया