विराटनगर । मोरङको बूढीगंगामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा सोमबार बिहान एक युवकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
कोशी लोकमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–२ मा मोटरसाइकलले साइकल यात्रीलाई बिहान ६ बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको कोशी प्रदेश–०२–०६१ प ७८५२ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका साइकल यात्रीलाई नेपाल फ्युल सेन्टर अगाडि ठक्कर दिएको हो ।
साइकललाई ठक्कर दिनसाथ अनियन्त्रित भएको मोटरसाइकल सडक किनारमा रहेको रेलिङमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकलमा सवार सिराहाको लहान नगरपालिका–३ का १८ वर्षीय डाइमन्डकुमार कुसवाहको मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
अनुहार, टाउको र खुट्टामा चोट लागेका उनलाई उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकलमा सवार लहान–२ का १७ वर्षीय राहुल कुसवाह घाइते भएका छन् । बायाँ हातमा चोट लागेका उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, मोटरसाइकलको ठक्करबाट साइकल यात्री सुनसरीको दुहबी नगरपालिका–१ का २२ वर्षीय साहजित मियाँ पनि घाइते भएका छन् । टाउको, अनुहार, दायाँ हात र खुट्टामा चोट लागेका उनको अवस्था मध्यम रहेको डीएसपी मिश्रले बताए ।
दुवै जना घाइतेको विराट शिक्षण अस्पतालमै उपचार भइरहेको छ । मोटरसाइकल र साइकललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकल कसले चलाएको थियो भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

























