सुनसरीको दुहबी नगरपालिका–४ स्थित एक किराना पसलमा बिक्रीका लागि राखिएको पाउरोटीको बन्द प्याकेटभित्र मरेको किरा भेटिएको छ। प्याकेट नखोली बाहिरबाटै किरा देखिएपछि उक्त घटना सार्वजनिक भएको हो।
बुधबार बिहान एक ग्राहक पाउरोटी किन्न पसल पुगेका बेला प्याकेटभित्र कालो रङको मरेको किरा देखेपछि पसल सञ्चालकलाई जानकारी गराएका थिए। बन्द प्याकेटभित्रै किरा भेटिएपछि खाद्य वस्तुको उत्पादन, प्याकेजिङ तथा गुणस्तर नियन्त्रणप्रति प्रश्न उठेको छ।
उक्त पाउरोटी मोरङमा उत्पादन हुने कल्पना बेकरी उद्योगको रहेको जनाइएको छ। उत्पादनकै क्रममा वा प्याकेजिङका बेला बाह्य पदार्थ मिसिएको हुन सक्ने भन्दै उपभोक्ताले घटनाको छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न माग गरेका छन्।
खाद्य वस्तुमा यस्ता समस्या दोहोरिन नदिन सम्बन्धित नियामक निकायले बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ। साथै, अखाद्य वा दूषित वस्तु उत्पादन तथा बिक्री–वितरण भएको पाइएमा कानुनबमोजिम कारबाही गर्नुपर्ने उपभोक्ताहरूको माग छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ४२(ग) अन्तर्गत किरा परेको वा खान अयोग्य बाह्य पदार्थ मिसिएको खाद्य पदार्थ उत्पादन तथा बिक्रीसम्बन्धी कसुरमा एक वर्षसम्म कैद वा चार लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया