नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी अध्ययन गरी आवश्यक संशोधनपछि पास गरिने बताएका छन् ।

प्रथम सुकुटे महोत्सवको उद्घाटन गर्न आएका दाहालले शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्ययन नै नगरी त्यसको बिरोध वा समर्थन गर्नुको कुनै तुक नरहेको बताए । उनले मुलुकको हित विपरीत हुने बुंदालाई संशोधन गरी पास गर्न सकिन्छ भन्ने पार्टीको लाइन रहेको बताएका थिए ।

‘५५ अर्बको लागि आफ्नो राष्ट्रिय हित विपरीत सम्झौता हुँदैन, संशोधन नगर्दा अघि बढ्न कठिन छ,’ प्रचण्डले भने । दाहालले पार्टी एकता सुदृढ हुँदैगएको पनि बताए । नेता वामदेव गौतमको विषयलाई लिएर सुरु विवादबारे पनि प्रचण्डले विरोध गर्नु गलत रहेको संकेत गरेका थिए ।

एकाध नेताले निहुँ खोज्दैमा पार नलाग्ने र राष्ट्रिय सभाबाट प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने उपाध्यक्ष वामदेव गौतमको व्यक्तिगत चाहना भएको उनको भनाइ थियो । संविधान संशोधनको शर्त फिर्ता लिएपछि मात्र वामदेवलाई राष्ट्रियसभामा पठाउने निणय भएको उनको दाबी थियो ।

‘नारायणकाजी श्रेष्ठ, वामदेव गौतम जस्ता मान्छे संसदमा पठाउँदा राष्ट्रियसभाको इज्जत बढ्छ । चुनाव हार्दैमा उहाँलाई अयोग्य भन्न मिल्दैन,’ दाहालले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णयको बचाउ गर्दै भने ।

सुकुटेसँग सम्बन्ध

बेलुन उडाएर महोत्सव उद्घाटन गरेका दाहालले कार्यक्रममा सुकुटेसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताएका थिए । प्रचण्डले पटक पटक आराम गर्न र पार्टीको बैठक बस्न समेत सुकुटे आउने गरेको स्मरण गरे ।

राजधानीबाट नजिकको गन्तव्य भएकाले सुकुटे बिस्तारै पर्यटक हब बन्न थालेकोमा खुसी व्यक्त गरेका थिए । दाहालले सुकुटेको पर्यटन प्रवद्र्धन गर्न स्थानीय उत्पादन उपभोगमा जोड दिनुपर्ने धारणा राखे ।

पर्यटक आकर्षित गर्न सुनकोशीको संरक्षणमा विशेष ध्यान दिन पनि स्थानीयलाई आग्रह गरे । महोत्सवमा सहभागी हुन दाहाल शुक्रबार अपराह्न चितवनबाट हेलिकोप्टरमा सिधै सुकुटे आएका थिए । शुक्रबार परिवारसहित र्‍याफ्टिङ गरेका दाहालले शनिबार सुनकोशी नदीमा पहिलो पटक भित्र्याइएको जेट बोटके समेत उद्घाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया