काठमाडौं । सरकारले नेपाल र भारतसँग सीमा जोडिएका जिल्लामा उच्च सतर्कता अपनाउन जिल्लास्थित कार्यालयलाई निर्देशन दिएको छ । विश्वभर कोरोना भाइरस संक्रमण फैलिरहेको बेला सरकारले भीडभाड तथा सभा सम्मेलन नगर्न निर्देशन दिएको हो ।

चीनबाट फैलन सुरु भएको कोरोना भाइरस भारतका केही स्थानमा समेत देखिन थालेपछि सरकारले दुवै मुलुकको सीमा क्षेत्रमा उच्च स्वास्थ्य सतर्कता अपनाउन आह्वान गरेको छ । संक्रमण भित्रिन नदिन नेपाल–भारतका ३७ सीमा नाकामा पनि चेकजाँच गर्ने निर्णय सरकारले गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले त्रिभुवन विमानस्थलमा भइरहेको चेकजाँचलाई अझ व्यवस्थित बनाउने निर्णय गरेको छ ।

यस्तै, आउजाउ हुने चीन र भारतका ३७ वटा नाकामा स्वास्थ्य टोली खटाएर चेकजाँच गर्ने निर्णय गरेको छ । सरकारले प्रदेशहरूमा टोली पठाइसकेको छ भने अन्य नाकाका लागि पनि टोली पठाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यसैगरी, बाग्मती प्रदेशका १३ वटै जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय र स्वास्थ्यकर्मीलाई नोबेल कोरोना भाइरसविरुद्ध तयारी अवस्थामा राखिएको राजधानीकर्मी सरिता दाहालले जानकारी दिइन् । सामाजिक विकास मन्त्रालय मातहतका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई भाइरसविरुद्ध सचेत पार्दै तयारी अवस्थामा राखिएको हो ।

भाइरसको संक्रमण प्रदेशमा फैलन नदिन स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी तयारी हालतमा राखिएको स्वास्थ्य निर्देशनालय हेटौंडाले जानकारी दिएको छ । बाग्मती प्रदेश मातहतका ८ वटा अस्पताल, १३ वटा जिल्लाका स्वास्थ्य कार्यालय र १३ वटै जिल्लाका आयुर्वेद संस्थालाई सचेत रहँदै शंकास्पद बिरामीलाई उपचारको व्यवस्था मिलाउन निर्देशन दिइएको निर्देशनालयका निर्देशक रमेशप्रसाद अधिकारीले बताए ।

बाग्मती प्रदेश सरकारले रसुवा अस्पतालबाट केरुङ नाकामा चिकित्सक खटाएको निर्देशक अधिकारीले बताए । त्यसैगरी, तातोपानी नाकामा पनि यसका शंकास्पद विरामी आइहालेमा उपचार गर्ने व्यवस्था मिलाइनुका साथै दुईवटा एम्बुलेन्स तयारी हालतमा राखिएको उनले बताए । मकवानपुर जिल्ला प्रशासन कार्यालयले भीडभाड हुने सभा सम्मेलनलगायत कार्यक्रम सञ्चालन गर्न पनि रोक लगाएको छ ।

यस्तै, काठमाडौं जिल्ला प्रशासन कार्यालय र ललितपुरले छुट्टाछुट्टै सूचना जारी गरी जिल्लाभित्र भीडभाड हुने भेला, सभा, सम्मेलन जस्ता कार्यक्रम नगर्न सबैमा अनुरोध गरेको छ । दुवै जिल्लामा अर्को निर्णय नभएसम्मका लागि भन्दै अनिश्चितकालीन रोक लगाइएको हो । काठमाडौंका प्रशासकीय अधिकृत मानबहादुर बुढा र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बुधबार सूचना जारी गरेका हुन् ।

यस्तै, प्यूठान जिल्ला प्रशासन कार्यालयले पनि सबै स्थानीय तह तथा जिल्लास्थित सबै कार्यालयलाई पत्राचार गर्दै सभा, सम्मेलन तथा भीडभाड जम्मा हुने कार्यक्रम स्थगित गर्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्तले बुधबार पत्राचार गर्दै सबै कार्यक्रम सञ्चालनमा रोक लगाएका हुन् ।

यसैगरी, दार्चुला जिल्ला अस्पतालले सावधानी अपनाउन आह्वान गरेको राजधानीकर्मी नरेन्द्र कार्कीले जानकारी दिए । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजन वाडेले बिहीबार विज्ञप्ति निकालेर यस्तो जानकारी गराएका हुन् । यसैगरी, सिन्धुपाल्चाक जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्ति जारी गरी जिल्लामा सभा, सेमिनार, गोष्ठी, मेला, पर्व, महोत्सव, भोजभतेर, होलीजस्ता भीडभाड हुने कार्यक्रममा रोक लगाइएको राजधानीकर्मी दिनेश थापाले जनाएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले विज्ञप्ति जारी गरी यस्तो कार्यमा सहभागी नहुन अनुरोध गरेका छन् ।

यसैगरी, काभ्रे जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै भीडभाड हुने कार्यक्रमहरू स्थगन गर्न र कार्यक्रममा सहभागी नहुन सबैमा अनुरोध गरेको राजधानीकर्मी सुरज श्रेष्ठले बताए । प्रमुख जिल्ला अधिकारी उद्धव केसीको अध्यक्षतमा बसेको सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यसैगरी, नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेको अध्यक्षतामा बुधबार बसेको सुरक्षा समितिको बैठकले कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न आठ बुँदे निर्देशन जारी गरेको राजधानीकर्मी शोभा जीसीले जानकारी दिइन् । जिल्लामा कुनै पनि सभा सम्मेलनजस्ता भीडभाड हुने कार्यक्रम सञ्चालनमा रोक लगाएको छ । यस्तै, कोरोना भाइरसको संक्रमणका कारण अहिले संखुवासभाका १० वटै स्थानीय तहमा तय गरिएका कार्यक्रम गर्न रोक लगाउन निर्देशन दिइएको राजधानीकर्मी भविन कार्कीले बताए । प्रमुख जिल्ला अधिकारी जीवनप्रसद दुलालले संक्रमण हुनबाट बच्ने उपायहरूको पालना गर्न र भीडभाड हुने कार्यक्रममा सहभागी नहुन सबैमा आह्वान गरेका छन् । भोटखोला गाउँपालिका ची सँग जोडिएका कारण सचेत रहन प्रशासनले आग्रह गरेको हो ।

यसैगरी, स्याङ्जामा पनि अर्को निर्णय नभएसम्मका लागि मेला, महोत्सव, सम्मेलन लगायत कार्यक्रम नगर्न अनुरोध गरेको प्रशासन कार्यालयले निर्देशन दिएको राजधानीकर्मी कृष्ण सिग्देलले जानकारी दिए । कोभिड—१९ का बारेमा हरेक स्थानीय तहका स्वास्थ्य शाखाबाट जनचेतामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णयसँगै जिल्ला अस्पताल, जनस्वास्थ्य कार्यालय, स्वास्थ्य चौकीहरूलाई तयारी अवस्थामा रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिए ।

यस्तै, जिल्ला प्रशासन कार्यालय पाल्पाले बिहीबार सूचना जारी गर्दै सार्वजनिक समारोह नगर्न अनुरोध गरेको राजधानीकर्मी किरण कौशलले बताएका छन् । प्रशासकीय अधिकृत रमा श्रेष्ठले जारी गरेको सूचनामा जिल्लाका स्वास्थ्य संस्थाहरूमा रोकथामका लागि पूर्वतयारी तथा सचेतना कार्यक्रम सञ्चालन गर्न भनिएको छ । यस्तै, धनगढी उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथामका लागि भीडभाड हुने कुनै पनि गतिविधि नगर्न सूचना जारी गरेको छ । नगरप्रमुख नृपबहादुर ओडले नगरवासीमा अपिल गर्दै संक्रमणको जोखिमबाट बच्ने उपाय अवलम्बन गर्न आह्वान गरेका हुन् ।

यसैगरी, जिल्ला प्रशासन कार्यालय मोरङले पनि बिहीबार सूचना जारी गरी संयमता अपनाउन आह्वान गरेको मोरङस्थित राजधानीकर्मी सुदीप कोइरालाले जानकारी दिए । जिल्लाभित्र कुनै पनि सभा समारोह नगर्न जिल्ला प्रशासनले आह्वान गरेको छ । यसैगरी, उदयपुर जिल्ला प्रशासन कार्यालयले पनि सभा सम्मेलन गर्न रोक लगाएको उदयपुरस्थित राजधानीकर्मी ईश्वर तामाङले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बिहीबार विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि सभा सम्मेलन तथा भीडभाड हुने कार्यक्रम नगर्न निर्देशन दिएको छ ।

यस्तै, इलाम जिल्ला प्रशासन कार्यालयले पनि जिल्लामा भीडभाड हुने किसिमका कुनै पनि कार्यक्रम सञ्चालनमा रोक लगाएको इलामस्थित राजधानीकर्मी भगीरथ भण्डारीले बताएका छन् । अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया