वीरगन्ज : कोरोनाको त्रासले नेपाली बजारमा खाना पकाउने ग्याँसको अभाव देखिए पनि भारतबाट वीरगन्ज नाका हुँदै साविकको भन्दा बढी परिमाणमा ग्यास आयात भइरहेको छ।

वीरगन्ज नाका हुँदै शुक्रबार मात्रै १ सय १८ बुलेट अर्थात २१ लाख २४ हजार किलोग्राम ग्याँस भारतबाट नेपाल भित्रिएको छ। जसमध्ये काठमाडौं उपत्याकाका लागि ५१ बुलेट र अन्य ठाउँका लागि ६७ बुलेट पठाइएको नेपाल आयल निगमले जनाएको छ।

गत बिहीबार पनि भारतबाट वीरगन्ज नाका हुँदै ९२ बुलेट अर्थात १६ लाख ५६ हजार केजी ग्याँस भित्रिएको थियो। जसमध्ये ४० बुलेट काठमाडौं उपत्यकाका लागि र बाँकी ५२ बुलेट ग्यास अन्यत्र स्थानका लागि पठाइएको आयल निगमले जनाएको छ।

देशमा खपत हुने कुल मागको ९५ प्रतिशत ग्याँस वीरगन्ज नाका हुँदै नेपालमा भित्रिने गरेको छ। कारोनाको त्रास फैलिए यता पछिल्लो दुई महिना (माघ र फागुन) को अवधीमा मात्रै भारतबाट वीरगन्ज नाका हुँदै ३ करोड ८५ लाख ५८ हजार केजी ग्याँस नेपाल भित्रिएको छ।

जबकी गत आर्थिक वर्ष २०७५-०७६ को त्यही २ महिना (माघ र फागुन) को अवधीमा वीरगन्ज नाका हुँदै ३ करोड ३७ लाख ९८ हजार केजी मात्रै ग्याँस आयात भएको थियो।

गत आर्थिक वर्षको माघ र फागुन २ महिनाको अवधीभन्दा यसपालीको उक्त २ महिनाको अवधीमा ४७ लाख ६० हजार केजी बढी ग्याँस आयात भएको वीरगन्ज भन्सार कार्यालयका सुचना अधिकारी विमल साहले जानकारी दिए।

चिनको बुहानबाट कोरोनाको संक्रमण फैलिए यता भारतबाट अत्यावश्यक उपभोग्य वस्तुको निर्यातमा कडाइ गरिएको हल्ला चलेपछि नेपाली बजारमा कृत्रीम अभाव सृजना गरेका छन्। उपभोक्ताले पनि कोरोनाको त्रासले आवश्यकताभन्दा बढी परिमाणमा बजारबाट समान किनेर जगेडा राख्न थालेका कारणले पनि बजारमा सबैभन्दा बढी ग्याँसको अभाव देखिएको हो।

कोरोनाको सन्त्रासका कारण भारतबाट ग्याँस आयातमा कुनै असर नपरेको बरु पहिलेको भन्दा अहिले बढी परिमाणमै ग्याँस आयात भइरहेको वीरगन्ज भन्सार कार्यालयका सुचना अधिकारी साहले  बताए।

नेपाल ग्याँस बिक्रेता महासंघका केन्द्रीय अध्यक्ष महेश्वरकुमार श्रेष्ठले भने ग्याँस बिक्रेताका कारणले नभइ अरु नै कारणले बजारमा ग्याँसको अभाव भएको बताए। उनले भने, ‘कोरोना भाइरसको त्रासले आम उपभोक्ता, तारे होटल, पार्टी प्यालेश , पुलिस र सेनाका ब्यारेकको मेसमा रहेका खाली सिलिन्डर भरेर जगेडामा राख्न थालिएको छ, जसका कारण बजारमा अचानक ग्यान्सको अभाव भएको हो  ।’

यसका साथै ग्यास बोटलिङ प्लाण्ट (ग्याँस उद्योग)ले पनि आफनो फाइदाका लागि सरकारबाट अनुमति प्राप्त कोटाभन्दा बढी परिमाणमा नयाँ सिलिण्डर बजारमा बिक्री गरेका कारण पनि ग्यासको अभाव भएको श्रेष्ठको तर्क छ।
कोरोनाको त्रास बढेर संकट निम्तिएका बेला पनि आयल निगमले ग्यासको आयातमा कुनै कमी नगरेकोले निगम धन्यवादको पात्र रहेको उनले बताए।

तर ग्याँस उद्योगहरुले नया सिलिण्डर बेचेर बढी मुनाफा कमाउने लोभमा अनुमति पाएको कोटाभन्दा बढी संख्यामा सिलिण्डर बजारमा छरेका कारण माग र आपुर्ति बीचको दुरी बढेर अभाव हुन पुगेको श्रेष्ठले बताए।

आयल निगमको निर्देशिका परिमार्जन गरी सुधार नगरेसम्म बजारमा समय समयमा ग्याँसको अभावको समस्या भइरहने श्रेष्ठको भनाइ छ।

‘पहिलो कुरा त दाल चामल पसलमा ग्याँस बिक्री रोक्नु पर्छ , आधिकारिक बिक्रेताले नै ग्याँस बिक्री गर्न पाउने नियम बनाउनु पर्छ’, श्रेष्ठले भने, ‘यसका साथै कुनै पनि ग्याँस बोटलिङ प्लाण्टले नयाँ सिलिण्डरको कोटा थप्नु परे निगम सञ्चालक समितिको बोर्डले औचित्यता हेरेर मात्र नयाँ सिलिण्डर कोटा थपका लागि स्वीकृति दिने प्रावधान बनाउनु जरुरी छ , यो गरियो भने बजारमा ग्याँस अभाव कहिले पनि हुन्न।’

तपाईको प्रतिक्रिया