नैरोबी — एसियाली राष्ट्र चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण युरोप र अमेरिका हुँदै अफ्रिका पुगेको छ ।केन्या, इथोपिया, सुडान र गिनीले शुक्रबार पहिलो संक्रमित पुष्टि गरेसँगै अफ्रिकी महादेशका ५४ मध्ये १८ मुलुकमा कोभिड–१९ संक्रमित पाइएका हुन्

अधिकांश संक्रमित विदेशी नागरिक वा हालसालै विदेश भ्रमणबाट अफ्रिका पुगेका व्यक्ति छन् । १८ मध्ये कैयौं मुलुकमा संक्रमित संख्या एक अंकमा रहे पनि स्वास्थ्य प्रणाली कमजोर भएको अफ्रिकी महादेशले भाइरस संक्रमण रोक्न नसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । विकसित र स्वास्थ्य प्रणाली मजबुत रहेका युरोप र अमेरिकाका राष्ट्रमा समेत संक्रमण तीव्र गतिमा फैलिइरहेका बेला कोभिड–१९ अफ्रिका पुग्नुले अवस्था थप भयावह हुन सक्ने विश्व स्वास्थ्य संगठनले बताएको छ ।

आर्थिक रूपमा अफ्रिकाकै धनी केन्याले संक्रमण देखिएलगत्तै राजधानी नैरोबीमा सबै सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाएको छ र विदेशीलाई यात्रा प्रतिबन्धको घोषणा गरेको छ । उसले गत महिनै चीनबाट हुने सबै उडान स्थगन गरेको थियो भने बिहीबार जेनेभा र रोमबाट हुने उडान पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरेको छ । जनघनत्वका हिसाबले अफ्रिकाकै दोस्रो इथियोपियाको राजधानी अदिस अबाबका मेयरले एकअर्काको नजिकमा नजान अपिल गरे पनि स्वास्थ्यमन्त्रीले भने तत्काल उडान स्थगन गर्ने कुनै योजना नभएको बताएका छन् । अन्य राष्ट्रले देखिने तयारी गरेका छैनन् ।

कोभिड–१९ बाट हालसम्म विश्वभर १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित भइसकेका छन् । १ सय २३ देशमा संक्रमण फैलँदा मृतक संख्या ४ हजार ९ सय ४७ पुगेको छ ।

इटालीमा संक्रमण बढेको बढ्यै

पछिल्लो समय चीनमा कोभिड–१९ को संक्रमण घट्दै गएको छ तर युरोप र अमेरिकामा भने झन्झन् बढिरहेको छ । इटालीमा शुक्रबार थप २५० जनाको मृत्यु भएको छ भने थप २ हजार ५ सय ४७ जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या १ हजार २ सय ६६ पुगेको छ । त्यस्तै संक्रमितको संख्या १७ हजार ६ सय ६० पुगेको छ ।

इरानमा पनि कोभिड–१९ को संक्रमण बढिरहेको छ । शुक्रबार इरानमा थप ८५ जनाको मृत्यु भयो भने एक हजार २ सय ८९ जनामा संक्रमण देखियो । शनिबार बिहानसम्म इरानमा ५१४ जनाको मृत्य भएको छ भने ११ हजार ३ सय ६४ जनामा संक्रमण देखिएको छ ।

शुक्रबार इरानपछि सबैभन्दा धेरै स्पेनमा ४७ जनाको मृत्यु भएको छ । स्पेनमा शुक्रबार मात्रै थप २ हजार ८६ जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म स्पेनमा संक्रमितको संख्या ५ हजार नाघेको छ भने मृतकको संख्या १३३ पुगेको छ । त्यस्तै शुक्रबार फ्रान्समा १८, दक्षिण कोरियामा ६, नेदरल्यान्ड्समा ५, स्विजरल्यान्डमा ४ र इन्डोनेसियामा ३ जनाको मृत्यु भएको छ । त्यस्तै शुक्रबार चीनमा थप १३ जनाको मृत्यु भएको छ भने थप ११ जनामा स‌ंक्रमण देखिएको छ ।

अहिलेसम्म कहाँ कति मृत्यु ?

चीन – ३,१८९

इटाली –१,२६६

इरान – ५१४

दक्षिण कोरिया – ७२

स्पेन – १३३

फ्रान्स – ७९

अमेरिका – ५०

जापान – २८

बेलायत – ११

स्विजरल्यान्ड – ११

नेदरल्यान्ड्स – १०

इराक – ९

जर्मनी – ८

फिलिपिन्स -६

सान मारिनो – ५

इन्डोनेसिया, हङकङ – ४/४ जना

बेल्जियम, अस्ट्रेलिया, लेबनान – ३/३ जना

पोल्यान्ड, अर्जेन्टिना, भारत, इजिप्ट, अल्जेरिया – २/२ जना

नर्वे, स्विडेन, अस्ट्रिया, क्यानडा, ग्रीस, आयरल्यान्ड, थाइल्यान्ड, ताइवान, अल्बानिया, बुल्गेरिया, अजरबैजान, पानामा, मोरक्को, गायना, युक्रेन, सुडान, लक्जेम्बर्ग, इक्वेडर – १/१ जना

तपाईको प्रतिक्रिया