तरकारी लगाउने खेतबारी नभएको बाहानमा बजारबाट तरकारी किनेर खानेको संख्या हिजो आज बढ्दो छ । तर तनहँुको व्यास नपा–२ दमौली बजारकी कल्पना गौलीले खेतबारी नभएपनि कौसीमा लगाएर प्रसस्त तरकारी उत्पादन गर्न सकिन्छ भन्ने पुष्टि गर्नु भएको छ ।दमौली बजारको मुटु, दमौलीको सबैभन्दा बढि व्यापार हुने मार्ग भनेर चिनिने कालिका मार्गमा करिब एक आनाको क्षेत्रफलमा बनेको आरसिसि घरको कौसीमा गौलीले करिब एक दर्जन थरीका तरकारी र जडुबुटी लगाउनु भएको छ ।

पाँच ढलानको उहाँको घरको कौसीमा मात्र हैन, हरेक तलाको बरन्डामा समेत गमलामा तरकारी लटरम्म फलेको देख्न पाईन्छ । एक आनाको जग्गामा बनेको घरमा भ-याङ लगायतको भाग छोड्दा जम्मा जम्मी आधा आना भन्दा केही बढि ठाउँ बाँकी रहेको छ ।त्यसमा पनि पानी जम्मा गर्ने दुई वटा ठुला ठुला ट्यांकी त्यसभित्रै ओकटेका छन् । त्यो बाँकी रहेको ठाउँमा उहाँले सिमेन्टको गाह्रो उठाएर त्यसमा माटो भरेर तरकारी लगाउनु भएको छ । त्यसैगरि बाँकी रहेको ठाउँमा गमला, ड्रम, प्लाष्टिकको बाल्टीमा सिजन अनुसारको तरकारी लगाउनु भएको छ ।

अहिलेको सिजनमा उहाँको कौसीमा काउली, ब्रोकाउली, कुरीलो, बोडी, साग, धनीया, मेथी, सुप, चम्सुर, सिमि, मुला, स्थानीय जातको गोलभेडा, प्याज र लसुन प्रसस्त देख्न पाईन्छ । त्यसैगरि अर्काे सिजनमा लहरेबाली तरकारी घिराम्लो, चिचिन्डा, काक्रो, बोडी, लौका, फर्सी र पिडालु समेत लगाउने योजना रहेको उहाँको भनाई छ ।त्यसैगरि जडुबुटी तर्फ घोडटाप्रे, तितेपाती, सिस्नो, कालो हलेदो, पतीना, घ्युकुमारी पनि लगाएको उहाँले जानकारी दिनु भयो । ति सबै तरकारी र जडिबुटी पुर्ण अर्गानिक भएको उहाँले दावी गर्नु भयो ।

त्यतीमात्र नभएर सात रङको फुल्ने बेगन बेली फुल पनिन उहाँको कौसीमा देख्न पाइन्छ ।नेपाल घरेलु तथा साना उद्योग महासंघ तनहुँ शाखाको महिला उद्यमी समितिको अध्यक्ष र माँ दुुर्गा नामक धार्मिक संस्थाको संस्थापक अध्यक्ष रहनु भएकी गौली सामाजिक कामबाट बचेको समयको व्यवस्थापन र तरकारीमा आत्मनिर्भर बन्ने उद्देश्यले नै कौसी खेती गरेको बताउनु हुन्छ । कौसीमा उत्पादित सबै तरकारी घरमा नै उपभोग गर्ने र कहिलेकाँही काठमाडौंमा बस्नु हुने आमा वुवाकहाँ कोशेली पठाउने गरेको उहाँले बताउनुभयो ।छिमेकीहरुले कहिले काँही तरकारी बेच्न सुझाव दिए पनि विक्री गर्ने प्रयोजन नभएको उहाँले बताउनु भयो ।

बरु कहिलेकाँही धेरै उत्पादन भयो भने छिमेकी र साथी भाईलाई उपहार पठाउने गरेको उहाँको भनाई छ ।घरमा उपभोग गर्ने तरकारी घरमै उत्पादन गर्न सक्ने हो भने धेरै रकम बचत हुने गौलीको भनाई छ । उहाँले भन्नु भयो ‘कम्तीमा तरकारी किन्ने दैनिक ५० देखी सय रुपैयाँ त बजत हुने भयो ।’ कौसी खेती गर्न थालेको करिब १५ बर्ष भईसकेको उहाँले जानकारी दिनु भयो ।दमौलीमा घर बनाएर बसेदेखी अहिलेसम्म तरकारी किनेर खानु नपरेको उहाँको भनाई छ । घरमा उत्पादन गर्न नसकिने, निउरो, सिब्लीगान र काउरो लगायतका केही तरकारी मात्र बजारबाट किनेर खानु परेको उहाँको भनाई छ ।

आलु पनि घरमा नै उत्पादन गर्न सकिने तर थोरै जग्गामा उत्पादन भएको आलुले सधैभरी धान्न नसक्ने उहाँले बताउनुभयो ।ति सबै तरकारीकोलागि गौलीले कम्पोष्ट मल पनि बनाउनु भएको छ । खेर गएका तरकारी र खानेकुरालाई ठुलो ड्रममा कुहाएर कम्पोष्ट मल बनाउने उहाँले बताउनु भयो । त्यसबाहेक तरकारीमा किरा नलागोस भनेर पीना तथा गाईको गहुँत पनि कहिलेकाँही प्रयोग गर्नुहुन्छ । पानीको रुपमा भाडा माझेको पानीलाई थोपा सिंचाई मार्फत सिन्चित गर्ने गरेको उहाँले बताउनु भयो । आधा आनाको ठाउँमा त्यती धेरै तरकारी लगाएको भन्दा कतिपयले नपत्याउने तर घरमा नै आएर हेरेपछि भने सबै दङ्ग पर्ने उहाँको भनाई छ ।

अहिले बजारमा विक्रीकोलागि राखिने प्रायजसो तरकारीमा विषादी प्रयोग हुने गरेको कारणले उपभोग गर्न नहुने अवस्था भएको भन्दै गौलीले आफ्नो घरमा उपभोग गर्ने तरकारी जग्गा जमिन हुनेहरुले जमिनमा र नहुनेहरुले कौसी या छतमा नै लगाउन सकिने बताउनु भयो । कौसी खेतीको बारेमा कसैले जानकारी लिन चाहेमा अनुभव बाँड्न तयार रहेको भन्दै गौलीले दमौली बजारलाई कौसी खेतीको बजारको रुपमा चिनाउने गरि अव आफ्नो संस्थाले नेतृत्व लिने योजना रहेको बताउनु भयो । दमौली बजारमा थोरै क्षेत्रफलको जग्गा लिएर घर बनाउनेको संख्या अत्याधिक रहेको हुँदा उनीहरुलाई कौसी खेतीको बारेमा जानकारी दिन सकेमा धेरै लाभ हुने उहाँको भनाई छ ।

कौसी खेतीलाई प्राथमिकतामा राखेर अव योजना बनाउन आफुले व्यास नगरपालिकाको प्रमुखलाई अनुरोध गरेको पनि उहाँले बताउनु भयो ।विशेषगरि बजार क्षेत्रमा तरकारी लगाउने जग्गाको अभाव भएको कारण कौसी खेती नै सबैभन्दा उपयोगी हुने कृषि ज्ञान केन्द्र तनहँुका प्रमुख कुलप्रसाद तिवारीले बताउनु भयो । कौसी खेतीको धेरै फाईदा हुने भन्दै तिवारीले आफ्नै हातले उत्पादन गरेको विषादी रहित तरकारी उपभोग गर्न पाईने, तरकारी किन्ने पैसाको बचत हुने, घरमा खेर गएको खानेकुरा र पानीको उचित व्यवस्थापन हुने, छतको सदुपयोग हुने, समयको व्यवस्थापन हुने र छतमा लगाएको तरकारीको कारण घर भित्रको तापक्रम पनि राम्रो हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया