सरकारले लकडाउनको समयमा पनि उद्योग र ठूला आयोजनाको काम सञ्चालन गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले शर्तसहित उद्योग र ठूला आयोजना सञ्चालन गर्ने निर्णय गरेको हो।
यसका लागि स्थानीय तहसँग समन्वय गर्नुपर्ने सरकारका प्रवक्ता एवम् अर्थ तथा सञ्चार तथा प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।
खतिवडाले तामाकोशी, मेलम्चीलगायत ठूला आयोजनाले बाहिरका कामदारलाई प्रवेश नदिई स्थानीय प्रशासनको सहजिकरणमा काम गर्न सक्ने निर्णय भएको जानकारी दिएका हुन्।
त्यसैगरी कृषिकार्यमासमेत बाहिरका श्रमिक नल्याइ काम गर्न दिने निर्णय उच्चस्तरीय समितिले गरेको छ।
विभिन्न उद्योगले कामरदारलाई भित्रै राखेर सञ्चालन गर्न सक्ने भए सञ्चालन गर्न सरकारले अनुमति दिएको छ।
सँगै सीमा क्षेत्रमा अलपत्र रहेका नागरिकलाई १४ दिनसम्म त्यही क्वारेन्टाइनमा बसेरमात्र आफ्नो देशमा प्रवेश गर्न समितिले पुनःअनुरोध गरेको छ। त्यसको व्यवस्थापन सम्बन्धित देशले गर्नुपर्ने समितिको ठहर छ।
ठूला साना आयोजनाले आफ्नै क्षेत्रभित्रका श्रमिक बाहिर नपठाइ परिचालन गरेर सञ्चालन गर्न अनुमति दिने र यसको सहजीकरण भने स्थानीय प्रशासनले गर्ने निर्णय भएको सरकारका प्रवक्ता खतिवडाले प्रष्ट पा।
अहिले हिउँदे बाली भित्र्याउने र बर्खे धान रोप्ने बेला भएकाले गहुँ काट्ने या धान रोप्ने या अन्य कृषि कार्य गर्ने विषयमा बाहिरी श्रमिक नल्याइ स्थानीय र पारिवारिक सहकार्यमा बाली लगाउन र उठाउनका लागि अवरोध निर्णयमेत बैठकले गरेको हो।
बैठकमा कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरलाई समन्वय समितिले सहजरुपमा परिचालन गर्ने विषयमसमेत छलफल भएको छ।
स्वास्थ्य उपचार, खाद्यान्न, स्वास्थ्य सामग्रीको आपूर्ति, शान्तिसुरक्षा तथा सूचना प्रविधिलगायतका कार्यसम्पादन गर्ने विषयमा क्यालेन्डर बनाएर अघि बढ्ने गरी छलफल भएको खतिवडाले जानकारी दिए।
कोरोना सङ्क्रमण रोक्न अत्यावश्यक कामबाहेक बाहिर ननिस्कने गरी जारी गरेको आदेश ‘लकडाउन’ को बिहीबार १०औँ दिनमा आवश्यक वस्तु औषधि, खाद्य सामग्री र इन्धनको आपूर्ति असहज नहोस् भनेर ढुवानीका साधनलाई अझै सहज गर्ने निर्णय पनि बैठकले गरेको छ।
स्वास्थ्य सामग्री विवादको विषयमा भने प्रवक्ता खतिवडा खुल्न चाहेनन्। उनल स्वास्थ्य सामग्रीको विषय अनुसन्धानपछि मात्रै भन्न सकिने बताए।
स्वास्थ्य सामग्री खरिदका विषयमा कसैले भनेको कुराबाट प्रभावित नभई आवश्यक अनुसन्धानपछि मात्रै भन्न सकिने उल्लेख गरे । ‘महत्वपूर्ण कुरा सामग्री आएर मानिसको जीवन रक्षा भइरहेको छ, महङ्गो भयो कि भएन, विधि पुग्यो कि पुगेन भनेर हेर्ने निकाय छुट्टै छ’, उनले पत्रकारको प्रश्नको जवाफ दिँदै भने।
सरकारी तवरबाटै सामान ल्याउँदा उत्तम हुने जानकारी दिँदै मन्त्री खतिवडाले सरकारले यसअघि प्रयोग गरे पनि सफल हुन नसकेको बताए।


















