प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीलाई कोरोना विरुद्धको अभियान सशक्त बनाउन निर्देशन दिएका छन् ।

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरे पछि पहिलो पटक सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका ओलीले प्रदेश र स्थानीय तहले सशक्त ढंगबाट काम गर्नुपर्ने बताए ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारको एक्सन रुमबाट मुख्यमन्त्रीहरुसँग छलफल गरेका ओलीले प्रदेश र स्थानीय तहमा भएका कामको जानकारी लिएका थिए ।

भिडियो कन्फ्रेन्समा मुख्यमन्त्रीहरुले कोभिड–१९का विरुद्धमा आ–आफ्नो प्रदेशमा भएका प्रयासहरुको बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रधानमन्त्री ओलीले अहिले भइरहेका प्रयासहरुलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले सीमा नाकामा कडाई गरिने, लकडाउनलाई निरन्तरता दिने र संक्रमणको खतरालाई कुनैपनि भावुक कुराहरु गरेर लापरबाही नगर्न मुख्यमन्त्रीहरुलाई निर्देशन दिए ।

मुख्यमन्त्रीहरुले छिमेकी मुलुक भारतमा संक्रमणको खतरा बढीरहेकाले लकडाउनको अवस्थालाई कायम राख्नुपर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया