काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल–भारत सीमानाका बन्द गरेको छ भने देशभित्र लकडाउन गरेको छ ।सरकारले देखाउनका लागि सीमा बन्द गरेपनि भारतबाट दिनदहाडै कोरोना भित्रिरहेको पुष्टि भएको छ । वीरगञ्जको मस्जिदमा रहेका तीन जना भारतीय मुस्लिममा आईतबार कोरोना संक्रमण भेटिएको भोलिपल्ट सोमबार रौतहटमा अर्का व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना भेटिएका ती व्यक्ति ओली सरकारको लकडाउन र नाकाबन्दीका बेला नै भारतबाट नेपाल आएको खुलासा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार पत्रकार सम्मेलन गर्दै रौतहटका १९ वर्षीय युवामा कोरोना संक्रमण भएको जानकारी दिएको छ ।रौतहटको ईशनाथ नगरपालिका–५ को क्वारेन्टाइनमा राखिएका युवा चैत्र १६ गते भारतबाट गाउँ आएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत शशीमोहन दासले जानकारी दिए । ओली सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेको थियो ।

ओली सरकारको लकडाउनलाई चुनौती दिँदै ती व्यक्ति कोरोना संक्रमित भएर नेपाल प्रवेश गरेको पाइएको छ ।‘ती युवक नयाँदिल्लीबाट आएका हुन् । खुला बोर्डर छ । भित्रिबाटो हुँदै आए होलान्,’ दासले भने, ‘चैत १६ गते साँझ उनी घरमा आएर परिवारसँग बसेको गाउँले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । अर्काेदिन बिहानै प्रहरीले ती युवालाई क्वारेन्टाइनमा राखेको थियो ।’

उनी क्वारेन्टाइनमा रहेका बेला जनकपुरबाट आएको स्वास्थ्य टोलीले स्वाब संकलन गरेको थियो । जसको रिपोर्ट सोमबार आएको छ र ती व्यक्तिमा कोरोना भेटिएको छ ।चैत १६ गते साँझ ती व्यक्तिले परिवारसँग बिताएकाले परिवारका ४ जनालाई पनि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको प्रशासनले जनाएको छ । नगरपालिकाका सूचना अधिकारी मनिष झाले ईशनाथ नगरपालिका–५ मोतिपुरमा रहेको जनता माविको क्वारेन्टाइनमा रहेका संक्रमित व्यक्ति लकडाउनकै बेला हिँडेरै भारतबाट नेपाल प्रवेश गरेको जनाएका छन् ।

ओली सरकारले कोरोना रोक्न लकडाउन गरेपनि निर्णय कार्यान्वयनमा गम्भीर समस्या रहेको देखिएको छ । ओली सरकारको लापरवाहीका कारण भारतबाट दिनदहाडै कोरोना भित्रिरहेको छ ।

तपाईको प्रतिक्रिया