प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । पछिल्लो पटक झापाका ६२ वर्षीय एक वृद्धमा कोरोनाको संक्रमण भएको पुष्टि भएको हो । यसअघि भोजपुरमा समेत एकजनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । प्रदेश १ मा सबै भन्दा बढी उदयपुरमा २८ जनामा कोरोना संक्रमित भेटिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षणमा झापाका ६२ वर्षीय एक पुरुषमा कोरोनाको संक्रमण पुष्टि गरे ।
उदयपुरमा देशमै सबै भन्दा बढी कोरोना संक्रमित भेटिएपछि प्रदेश १ मा यसको संक्रमण फैलिन सक्ने जोखिम समेत बढेको छ । उदयपुरको नूरी मस्जिदमा आएका जमातीहरुलाई कोरोनाको संक्रमण देखिएपछि उनीहरु घुमेको प्रदेश १ र प्रदेश २ का विभिन्न जिल्लाहरुमा सतर्कता बढाइएको छ ।
उदयुरको भुल्के हटस्पटको रुपमा रहदा पहाडी जिल्ला भोजपुर र तराईको जिल्ला झापामा पनि कोरोनाको संक्रमण भएको पुष्टि भएपछि भने थप सतर्कता अपनाउन जरुरी भएको विज्ञहरुले बताए । संघीय सरकारले पनि उदयपुरमा ठुलो संख्यामा कोरोना संक्रमित फेला परेपछि विशेष चासो देखाएको छ । भुल्के वरपरका स्थानीयहरुको समेत स्वाब परीक्षणको लागि विराटनगर ल्याइएको छ ।
खासगरी जमाती टोली भुल्के र मस्जिदमा आउनु अगाडि उहाँहरु बसेको मस्जिद वरिपरि बसेका परिवारहरुबाट यो नमूना संकलन गरिएको छ’ नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, ‘अरु थप नमूना परीक्षण गर्ने योजना छ । त्यो अनुसार नमूना संकलन गरिरहेका छौं ।’ यो सँगै देशभर कोरोना संक्रमितको संख्या ४९ पुग्दा १० जना भने निको भएर घर फर्किएका छन् ।


















