नेपालले आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा आज घरेलु टोली ओमानविरूद्ध खेल्दैछ।

नेपाल र ओमानबीचको खेल बिहान ११:४५ देखि अल अमरेत क्रिकेट स्टेडियममा सुरू हुनेछ। सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाउन नेपालले ओमानविरुद्ध जित निकाल्दै विजयी सुरुआत गर्न आवश्यक छ।

यो प्रतियोगिताअघि चार देशीय सिरिजमा नेपालले ओमानलाई हराएको थियो।

हालसम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ओमान र नेपालको भेट दुईपटक भएको छ। सन् २०१९ मा भएको पहिलो खेलमा ओमान ६ विकेटले विजयी भएको थियो । तर, यही ११ फेब्रुअरीमा भएको खेलमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो।

यसपालि टिमका महत्वपूर्ण सदस्यीय करण केसी र सोमपाल कामी छैनन्। उनीहरूको अनुपस्थितिमा नेपालको प्रदर्शन कस्तो होला? यो विषय हेर्न लायक हुनेछ । पूर्णरूपमा फिट नहुँदा करण र सोमपालले विश्वकप छनोट गुमाएका हुन्।

टिममा तीव्र गतिका बलर करण केसीको स्थानमा गुल्शनकुमार झाले स्थान बनाएका छन्। केसी चोटका कारण टिमबाट बाहिरिएका हुन्।

नेपाली टिमका कप्तान सन्दीप लामिछानेले ओमानविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्नको लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् । उनले नेपालसँग प्रतिभाशाली र सन्तुलित खेलाडी रहेको पनि बताए । सन्दीपले नेपाल उत्कृष्ट दुई टिमको रूपमा विश्वकप छनोट हुने दाबीसमेत गरे ।

‘हामीले विश्वकपमा छनोट हुने राम्रो सम्भावना देखेका छौं । टी–२० फर्म्याटमा टेस्ट खेल्ने प्रतिद्वन्द्वी वा एसोसिएट टिम जोसँग खेले पनि खासै फरक पर्दैन । सिनियर र युवा खेलाडीको राम्रो मिश्रण भएकाले अरू टिमले नेपाललाई हराउन कठिन हुनेछ,’ आईसीसीसँगको कुराकानीमा सन्दीपले भनेका छन्, ‘एक कप्तानको रूपमा मलाई लाग्छ कि मेरो काँधमा धेरै जिम्मेवारी छ । र, म यसलाई यादगार बनाउन चाहन्छु । विश्वकप खेल्ने हाम्रो सपना हो । मलाई लाग्दैन कि युवा कप्तान हुनु कुनै समस्या हो, किनकि मलाई मेरा सिनियरहरूको पूर्ण समर्थन छ । सिनियरलाई सँगै पाएकोमा धन्य छु ।’

टी-२० विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्।

समूह ‘ए’ लाई पनि समूह १ र समूह २ मा विभाजन गरिएको छ। समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन्। समूह २ मा बहराइन, जर्मनी, आयरल्यानड र युएई रहेका छन्।

समूह १ र २ का शीर्ष २-२ टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुग्ने दुई टिमले यहि वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन्।

नेपालले विश्वकपमा स्थान पक्का गर्न सुरुमा समूह १ को शीर्ष दुईभित्र पर्नु पर्नेछ, त्यसपछि सेमिफाइनलको खेल जिते नेपाल यही वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछ।

तपाईको प्रतिक्रिया