आइसिसी टी-ट्वेन्टी विश्वकप क्रिकेटको ग्लोबल छनोट ’ए’ को तेस्रो खेलमा नेपाल आज क्यानडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे अल अमिरात क्रिकेट मैदानमा सुरू हुनेछ ।

छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै लगातार तेस्रो जित निकाल्न चाहन्छ । आजको खेल जिते नेपाल समुहको विजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछ । तर, नेपाल क्यानडासँग पराजित भए र अर्को खेलमा ओमानले फिलिपिन्सलाई हराए नेट रनरेटको आधारमा अन्तिम ४ मा पुग्ने टिम तय हुनेछ । नेपालले यसअघि ओमानलाई ३९ रन र फिलिपिन्सलाई १३६ रनले हराएको थियो । नेपालले दुई खेलमा चार अङ्क जोडेको छ ।

ओमान फिलिपिन्ससँऊ पराजित भए र नेपालले क्यानडालाई पराजित गरे नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । क्यानडा, ओमान र फिलिपिन्सको सेमिफाइनल सम्भावना नेट रनरेटले निर्धारण गर्नेछ । नेपाल तालिकाको शीर्षस्थानमा छ । दुई खेलमा दुई अङ्क जोडेको क्यानडा दोस्रो स्थानमा छ ।

समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल पुग्ने दुवै टोली अस्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आइसिसी पुरुष टी-ट्वेन्टी विश्वकपको लागि छनोट हुनेछन् ।

तपाईको प्रतिक्रिया