आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पिएनजी) माथि नेपालले जित निकालेको छ । बुधबार युएईको सारजाहमा भएको खेलमा नेपालले पिएनजीलाई २ विकेटले हराएको हो ।
पिएनजीले दिएको दुई सय ५ रनको लक्ष्य नेपालले ४९ ओभर २ बलमा ८ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा रोहितकुमार पौडेल र आरिफ शेखले अर्धशतकीय इनिङ्स खेले । रोहितले ५८ रन जोडे भने आरिफले ५३ रन बनाए ।
पिएनजीका नोरम्यान भानुवा, रिले हेकुरे र एली नाओले दुई/दुई विकेट लिए ।
त्यसअघिटस जितेर पहिले ब्याटिङ गरेको पिएनजीले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय पाँच रन बनाएको हो ।
पिएनजीका लागि चार्ल्स अमिनीले ५९ रनको अर्धशतकीय इनिङ खेले भने टोनी उराले २७ रन जोडे । लेगा सियकाले २५ रन बनाए भने चद सोपरले ३५, नोरमान भानुले २३ असद भालाले १९ रन बनाए ।
नेपालका सोमपाल कामीले तीन विकेट लिए । यस्तै सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले समान एक-एक विकेट लिए ।
लिग–२ मा नेपालले नौ खेल खेल्दै पाँच जित र चार हार खेपेको छ । १० अङ्क बनाएको नेपाल अहिले तालिकाको छैटौँ स्थानमा यथावत छ । नेपाल लिगमा कम खेल खेल्ने टोली पनि हो । पिएनजीले भने अहिलेसम्म अङ्कको खाता खोल्न सकेको छैन ।
अब, नेपालले दोस्रो खेल ४ चैतमा युएईसँग, तेस्रो खेल ७ चैतमा युएईसँग नै र ८ चैतमा अन्तिम खेल पिएनजीसँग खेल्ने छ । लिग टुमा सात टिम सहभागी छन् ।