नेपालले आज फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाईल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।

फिफा वरीयतामा आफूभन्दा निकैमाथि रहेको बलियो टोली थाइल्यान्डविरूद्ध नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

थाइल्याण्डको चोनबुरीमा हुने खेल नेपाली समयअनुसार आज साँझ पौने ६ बजेबाट सुरू हुनेछ।

हाल थाइल्यान्ड फिफा वरियताको एक सय १२ औं स्थानमा छ भने नेपाल एक सय ६७ औं स्थानमा छ।

पछिल्लो पटक नेपाल र थाइल्यान्डबीच सन् २००८ मा प्रतिस्पर्धा भएको थियो। सो खेलमा नेपाललाई थाइल्यान्डले ७-० को फराकिलो अन्तरले पराजित गरेको थियो।

आगामी जुनमा हुने एएफसी एसियन कप चीन २०२३ को तेस्रो चरणका लागि नेपाली राष्ट्रिय फुटबल टिमले तयारी गरिरहेको छ।

तयारीका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दुई चरणमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने योजना सार्वजनिक गरेका थिए।

सोही योजनाअनुरुप नेपालले माघमा मरिसससँग घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेलेको थियो। दशरथ रंगशालामा भएको दुवै खेलमा नेपालले समान १-० को जित निकालेको थियो।

तपाईको प्रतिक्रिया