दोस्रो संस्करणको राष्ट्रिय महिला फुटबल लिग बिहीबारदेखि चितवनमा हुँदैछ । लिगको पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् । यसपटक लिगको पहिलो चरणका खेलहरू चितवनको भरतपुरमा हुँदैछन् ।

पहिलो चरणका खेलका लागि तयारी प्ररा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । डबल राउण्ड एण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरू भरतपुर– १९ शारदानगरस्थित खेल मैदानमा हुनेछन् ।

पहिलो चरणका खेलहरू चैत ३० गतेसम्म हुनेछन् । दोस्रो चरणका २८ खेल बिराटनगरमा हुनेछन् ।

प्रत्येक दिन दुई खेल खेलाइनेछ । उद्घाटनको दिन भने एक खेल मात्रै हुनेछ । यसका लागि मैदानमा अस्थाई प्याराफिट बनाइएको छ । यसपटक लिगमा तीन बिभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनोट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् ।

उद्घाटन खेलमा बिहीबार साबिक विजेता एपीएफ र साबिक उपबिजेता त्रिभुवन आर्मी भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । लिग विजेताले २० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १० लाख पाउनेछ ।

तेस्रो हुने टोलीले पाँच लाख तथा चौथोले तीन लाख प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै फेयर प्ले टिमले एक लाख पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राइकरले समान ५०–५० हजार तथा उदयीमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् ।

सबै टिमलाई तयारीका लागि दश दिने एन्फाकी केन्दीय सदस्य पेमा लामाले जानकारी दिइन् । लिग सम्पन्न गर्नका लागि दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ । खेल हेर्नका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको स्थानीय आयोजक चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिए । उद्घाटनको दिन भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया