विराटनगर / विराटनगरमा एक सिटी सफारी चालकले बिहीबार बिहान महिलामाथि चक्कु प्रहार गरेका छन् । सिटी सफारी चार्ज गरेको विषयमा विवाद हुँदा विराटनगर महानगरपालिका–१० सोमबारे हाटका ३३ वर्षीय मेघराज मण्डलले छिमेकी ३४ वर्षीय मायादेवी मण्डलको टाउकोमा चक्कु हानेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुकाअनुसार घटनामा घाइते भएकी महिलाको कोसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको टाउको चारवटा टाँका लगाइएको छ ।

मेघराजले आफ्नो सिटी सफारी लुकाएर मायादेवीको घरमा जोडेको बिजुलीमा चार्ज गरेपछि दुई पक्षबीच विवाद भएको प्रहरीले जनाएको छ । मायादेवीले बिल धेरै उठ्ने भन्दै आफ्नो घरको बिजुलीमा चार्ज नगर्न आग्रह गर्दा मेघराजले बिहान ११ बजे चक्कु हानेको प्रहरीको भनाइ छ ।

चक्कु प्रहार गरेर फरार भागेका मेघराजलाई इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर इन्द्रबहादुर राना नेत्रृत्वको टोलीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ । मेघराजले भने मायादेवीले आफूलाई दिनु पर्ने पैसा नदिएको र उल्टै विवाद गरेका कारण आवेसमा आएर चक्कु प्रहार गरेको प्रहरीलाई बताएका छन् । घटनाका बारेमा अनुसन्धान थालिएको डीएसपी खिँउजुले बताए ।

तपाईको प्रतिक्रिया