काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणलाई लिएर सरकार सुरक्षा व्यवस्थाको तयारीमा जुटेको छ। सरकारले सीलाई राजकीय भ्रमणकै हैसियतमा ‘जेड प्लस’ सुरक्षा दिने तयारी गरेको छ। यो प्रकृतिको सुरक्षा राजकीय भ्रमणमा आउने अति विशिष्ट व्यक्ति (भीभीआईपी) लाई दिइन्छ। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि ुजेड प्लसु सुरक्षा दिइएको थियो।

आफ्ना राष्ट्रपति नेपाल भ्रमणमा आउने भएपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सरकारका मन्त्रीसँगको भेटलाई तीव्रता दिएकी छन्। गृहमन्त्री रामबहादुर थापा बादलसँगको भेटमा यान्छीले आफ्ना राष्ट्रपतिको भ्रमणलाई विवादरहित र त्रुटिरहित ढंगले सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरेकी छन्। गृहमन्त्री बादलले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँगै सेनाका उच्च अधिकारीलाई डाकेर राष्ट्रपति सीको भ्रमण सुरक्षामा कुनै त्रुटि हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइसकेका छन्।

चीनबाटै चार वटा विशेष गाडी

उच्च स्रोतका अनुसार राष्ट्रपति सीको भ्रमणमा चीनबाटै चार वटा विशेष गाडी नेपाल ल्याउने तयारी चीनले गरेको छ। त्यसका लागि परराष्ट्र मन्त्रालयमा समेत चीनले लबिङ गरिसकेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणताका उतैबाट सुरक्षाकर्मी ल्याइएको थियो। चीनले पनि राष्ट्रपति सीको भ्रमणको अग्रपंक्तिको कारगेडमा आफ्ना सुरक्षाकर्मी ल्याउने तयारी गरेको उच्च स्रोतले बतायो।

सरकारले राष्ट्रपति सीको भ्रमणमा चार वटा चुनौतीलाई केन्द्रित गरेर सुरक्षा योजना बनाइरहेको छ। स्वतन्त्र तिब्बतका नाममा हुनसक्ने विरोध, चीनले हालै पारित गरेको तर फिर्ता गरिसकेको चीन र हङकङवीचको सुपुदर्गी सन्धीलाई लिएर त्यसको विरोधमा हुनसक्ने गतिविधि र राष्ट्रिपतिमाथि हुनसक्ने सबै खालको सुरक्षा चुनौतीलाई लिएर समेत सुरक्षा योजना तयारी भइरहेको उच्च सुरक्षा स्रोतले बतायो।

‘विरोधमा प्रत्यक्ष कुनै पनि मुलुक अग्रपंक्तिमा नदेखिए पनि कसैलाई प्रयोग गरेर प्रदर्शन गर्न सक्छन्,‘ स्रोतले भन्यो,‘सबै पाटोलाई मूल्यांकन गरेर सुरक्षा योजना बनाइरहेका छौं।’ सी भ्रमणको दिन राजधानीमा सात हजार बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी सरकारको छ। उच्च स्रोतले भन्यो, ‘जुन दिन भ्रमण हुन्छ, त्यो दिन लगभग अघोशित कर्फ्यु जस्तै हुन्छ।’

विरोध प्रदर्शनको विभिन्न स्वरुपमा समेत सरकारले विश्लेषण गरेको छ। ड्रोनमार्फत कालो बेलुन उडाएर प्रदर्शन गर्ने, कुनै गुम्बामा पुगेर आत्मदाहको प्रयास गर्ने, सवारी रुटमा भेला भएर कालो झन्डा देखाउने, भ्रमणलाई अतिरञ्जित पार्न ‘होक्स बम’ राख्ने लगायतका सम्भाव्य विरोधका गतिविधिलाई विश्लेषण गर्दै सुरक्षा योजना बनाइरहेको जानकारी स्रोतले दियो।

भ्रमणको अघिल्लो दिनदेखि भ्रमण अवधिभर प्रत्येक गुम्बा, सहरका भित्री कोर एरियामा व्यापक मात्रामा सादा पोशाकका सुरक्षाकर्मी परिचालन गरी हुनसक्ने चीन विरोधी गतिविधिको सूचना संकलन गर्ने तयारी सरकारको छ। सीको सुरक्षाको अग्रपंक्तिमा नेपाली सेना, दोश्रो घेरामा प्रहरी र तेश्रो घेरामा सशस्त्र प्रहरीले पहरा दिने तयारी छ। आवश्यक्ता अनुसार राष्ट्रिय अनुसन्धान विभाग परिचालन गर्ने तयारी सरकारको छ।

सरकारले भ्रमण अवधिभर हाइप्वाइन्ट ड्युटी, हवाई गस्ती र पेट्रोलिङ, नाकामा कडाईसँगै अन्य गस्ती र चेकप्वाइन्टलाई कडाई गर्ने तयारी गरेको छ। सी भ्रमणको दिन सरकारले शैक्षिक संघसंस्था विदा दिने तयारी गरेको छ। गृहसचिव प्रेम कुमार राईले चिनियाँ राष्ट्रपति चिनफिनको सुरक्षा प्रबन्ध चुस्त रुपमा मिलाइने बताए। उनले भने, ‘हामी सबै खालको सुरक्षा दिन तयार छौं। हाम्रा सुरक्षा निकायहरूले आवश्यक तयारी गरिरहेका छन्। सुरक्षा व्यवस्थामा कुनै खालको त्रुटि हुन दिँदैनौ।’ अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया