पत्रकारिता पेसामा संलग्न भएर आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सन् २०२३ मा विश्वभरमा कम्तीमा ५८ जना पत्रकार मारिएका छन् । गाँजा क्षेत्रमा युद्धको त्रासादी कायमै रहँदा पनि गत वर्षको तुलनामा यो सङ्ख्या भने कम हो ।
रिपोर्टर्स विदआउट बोर्डर्स (आरएसएफ) द्वारा सङ्कलित वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख छ ।
गाजामा इजरायल र हमासबीचको युद्ध सुरु भएदेखि पत्रकारको रूपमा काम गरेका कारण कम्तीमा १३ जना पत्रकार मारिएका छन् । योसहित मारिने पत्रकारको सङ्ख्या ५८ पुगेको हो । गाजा क्षेत्रबाहेक सन् २०२३ डिसेम्बर १ सम्म ४५ जना पत्रकारको ज्यान गएको थियो । यस अवधिमा विश्वभर ५२१ जना पत्रकार बन्दी जीवन बिताइरहेका छन् । यो सन् २०२२ को तुलनामा ८.४ प्रतिशतले कमी हो ।
विश्वव्यापी रूपमा हेर्दा लामो समयदेखि कामको क्रममा वा कामको सिलसिलामा मारिने पत्रकारको सङ्ख्यामा कमी आएको देखिन्छ।
यसका कारणहरूमा समाचार संस्थामा सुरक्षा उपायहरू अप्नाउनु, सुरक्षात्मक उपकरणहरूको तालिम दिनु, पत्रकारले सावधानी अप्नाउनु, दण्डहीनताविरुद्धको लडाइको प्रभाव, अन्तर–सरकारी संस्थाहरूद्वारा गरिने कार्यहरू र गैरसरकारी संस्थाहरूको कामले पनि प्रभाव पारिरहेको प्रतिवेदनमा उल्लेख छ ।
यस अवधिमा कर्तव्यको सिलसिलामा वा कामको सिलसिलामा मारिने पत्रकारको सङ्ख्यामा समग्र गिरावट आएको छ ।
विगत पाँच वर्षमा आफ्नो कामको सिलसिलामा मारिएका पत्रकारको सङ्ख्यामा क्रमिक गिरावट आएको हो ।
ल्याटिन अमेरिकामा आफ्नो कामको सिलसिलामा मारिने पत्रकारको सङ्ख्यामा उल्लेखनीय गिरावट आएको छ ।
पत्रकारहरूका लागि शान्तिमा रहेका देशभन्दा युद्ध क्षेत्रहरू बढी घातक देखिएका छन् । यो वर्ष युद्ध क्षेत्रमा रिपोर्टिङ गर्ने क्रममा २३ पत्रकार मारिएका छन् । पाँच वर्षमा पहिलो पटक शान्ति क्षेत्रभन्दा युद्ध क्षेत्रमा बढी पत्रकार मारिएका छन् ।
विश्वभरमा सबैभन्दा बढी पत्रकार चीन, बेलारुस र म्यानमारका बन्दीगृहमा राखिएका छन् । चीन फेरि पनि विश्वको सबैभन्दा धेरै पत्रकार बन्दी बनाउने देश बनेको छ । जहाँ १२१ मिडिया पेशेवरहरू बन्दी जीवन बिताइरहेका छन् । यो विश्वभर हिरासतमा परेका पत्रकारहरूको करिब एक चौथाइ हो ।आरएसएफ