गोरखाको दुर्गम गाउँ धार्चे—१ हुलचुक दोभानको गणेश हिमाल आधारभूत विद्यालय भूकम्पका कारण जीर्ण भएको थियो । त्यतिबेला उचित मर्मतसम्भार हुन पाएन । अहिले पहाडटच नेपालनामक संस्था र गाउँपालिका मिलेर सुरक्षित स्थलमा स्थानान्तरण गरी शिलाचेतमा भवन निर्माण गरेका छन् ।

गाउँको विद्यालय पुनर्निर्माण गर्न स्थानीय अभिभावकले श्रमदान गर्न कटुवालले उर्दी जारी गर्‍यो । ६० जनाभन्दा धेरै स्थानीय अभिभावक श्रमदानमा धुरिए । त्यसमा अधिकांश महिला सहभागी थिए । ‘हाम्रो गाउँमा त यस्तै हो, घरभित्रको काममा, बाहिरको काममा जताततै महिला नै महिला अघि सर्छन्’, वडाध्यक्ष रामसिङ गुरुङ भन्छन्, ‘जस्तोसुकै काममा पनि महिला र पुरुष बराबरै खट्छन्, अझै महिला नै धेरै सक्रिय हुन्छन् ।’

गोरखा नगरपालिका–६ हरमटारी टोलका महिला मिलेर गोरखा आयुर्वेद कम्पनीनेर चौतारा निर्माण गरे । नगरपालिका कार्यालयसँग समन्वय गरी महिलाले त्यहाँको मन्दिरको जीर्णोद्धार पनि गरे । अहिले उनीहरू महिला समूहको मासिक बैठक सोही चौतारामा बस्छन् । मासिक बचत संकलन गर्छन् । सामाजिक कामको छलफल र निर्णय गर्छन् । मासिक रूपमा टोल, सडक, चोक सरसफाइमा जुट्छन् ।

गाउँटोलमा महिलाको गतिविधि पुरुषको भन्दा ज्यादा हुने गोरखाका स्थानेश्वर दवाडी बताउँछन् । ‘गाउँमा कसैको घरमा पूजाआजा छ भने पुरुष जग्गे (मण्डप) बनाउन भेला हुन्छन् । बत्ती कात्नेदेखि, दुना, टपरी लाउने, किनमेल गर्ने, सर्जाम जुटाउने, भान्साको व्यवस्थापन गर्ने सबैमा महिला नै खटिन्छन्’, उनी भन्छन्, ‘पूजा सकिएपछि पनि पुरुष सरक्क उठेर जान्छन्, तर भएभरका सामान तह लगाउने, सरसफाइ गर्ने, भान्सा उठाउने सबै काम महिलाकै जिम्मामा हुन्छ । बेलाबेला नाचगानमा सहभागी हुन पनि पुगेकै हुन्छन् । यसरी हेर्दा पुरुषभन्दा महिला त कति हो कति सक्रिय हुन्छन् ।’

महिला समुदायले समाजमा हुने हरेक गतिविधिलाई गम्भीरताका साथ जिम्मेवारी लिने महिला उद्यमी विकास समितिकी पूर्वअध्यक्ष रीता रेग्मी बताउँछिन् । ‘पहिले महिलालाई घरबाहिरको कार्यक्रममा सहभागी हुन घोषित, अघोषित प्रतिबन्ध जस्तै थियो । तर, अहिले महिला हरेक काममा सरिक हुने गरेका छन्’, उनले भनिन्, ‘हरेक सभा, समारोहका र्‍याली, जुलुसमा महिलाकै सहभागिता धेरै हुने गर्छ । खेतबारीको काम, ज्याला मजदुरी, उद्योग, व्यापारमा पनि महिला अघि सर्ने गरेका छन् । महिलाले जिम्मा लिएको काम गम्भीरताका साथ सम्पन्न हुने गर्छ । महिला बढी नै संवेदनशील र जिम्मेवार पनि छन् ।’ तर, महिलालाई राज्य र समुदायले पनि पुरुषलाई जति महŒव नदिने गरेको गुनासो उनले गरिन् ।

‘काम गर्नमा महिला पुरुषभन्दा धेरै अघि सर्छन् । एउटै घरमा श्रीमान् र श्रीमती दुवै जना जागिर खान्छन् भने महिलाले घरधन्दा सबै सिध्याएर अफिस जान्छन् । फर्केर आएपछि पनि घरधन्दाको काममा लागिहाल्छन्’, उनले भनिन्, ‘तर कुनै पुरुषले यस्तो गर्दैनन् । तर, दुःखको कुरा के छ भने उद्योग, व्यापार गर्नुपर्‍यो भने बैंकले पनि अथवा साहुले पनि पुरुषलाई जत्तिको भरोसा महिलालाई गर्दैनन् । यो निक्कै दुःखलाग्दो कुरा हो ।’ काममा जति पोख्त भए पनि आर्थिक अधिकार, राजनीतिक अधिकारमा पुरुषलाई जति महिलालाई स्थान नदिनु दुःखद् भएको उनको गुनासो छ ।

तपाईको प्रतिक्रिया