झापा / झापा जिल्लामा बिर्तामोड सुरक्षाका हिसाबले निकै संवेदनशील मानिन्छ । आपराधिक गतिविधि बढी हुने तथा जनघनत्व समेत धेरै भएकाले बिर्तामोड क्षेत्रको सुरक्षा व्यवस्था चुस्त राख्न प्रहरीलाई हम्मे–हम्मे हुने गरेको छ । तर, गत जेठ महिनाबाट इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्व सम्हालेका प्रहरी नायब उपरीक्षक मोहन थापा छोटो समयमा नै आपराधिक गतिविधि नियन्त्रणमा उल्लेख्य काम गर्न सफल भएका छन् ।
पाँच महिनाको अवधिमा प्रहरी नायब उपरीक्षक थापाले हनी ट्रयापदेखि एयर होस्टेज हुँ भन्दै ठगी गर्ने तथा सांगठानिक अपराध गर्नेहरुलाई पक्राउ गर्न सफल भएका छन् । प्रहरीको कुशल नेतृत्वमा गनिने थापा बिर्तामोडको कमाण्ड सम्हाले लगत्तै अपहरण काण्डको ठूलो गिरोहलाई पक्राउ गर्न सफल भए ।
गत साउन १ गते बिर्तामोड–४का व्यवसायी अमरजित साहलाई महिलाको प्रयोग गरी झुठो मायाको जालबुनेर ललाईफकाई अपहरण गरी कोठामा राखेर हन्टर सुजन, सञ्जु क्षेत्री भन्ने सुजन शंकर, मेराज खान, पिके भन्ने प्रकाशचन्द्र दास, काशिद आलम भन्ने मोहमद काशेक शेख समेतको योजनामा शरीर बन्धक बनाई कुटपिट गरी कपडा खोल्न लगाई नाङ्गै बनाएर भिडियो खिची सामाजिक सञ्जालमा घर परिवार समेतमा देखाई दिने भनी धाक धम्की दिई डर त्रास देखाई ४० लाख दिने सम्झौता गरी पीडितलाई मुक्त गरेको घटनामा प्रहरी उनीहरुलाई पक्राउ गर्न सफल भयो ।

पक्राउ परेकाहरु अपहरण तथा शरीर बन्धक, लागूऔषध, आपराधिक लाभ, नक्कली नोट र संगठित अपराध मुद्दामा अनुसन्धान गरी पुर्पक्षको लागि थुनामा गएका छन् । प्रहरीले यो घटनालाई हनी ट्रयाप भन्दै नक्कली माया जालमा पारेर अपराध गर्नेहरुको घटना बाहिर ल्याएको हो । प्रहरी नायब उपरीक्षक थापाले अपराधमा शून्य सहनशीलताको रणनीति अपनाउँदै कुनै पनि अपराधका घटनामा संलग्नलाई उन्मुक्ति नदिने बताए । थापाले सामाजिक सञ्जाल फेसबुक लगायत विभिन्न व्यक्तिहरुसँग नजिक भई प्रलोभनमा पारी क्यानडा लैजान्छु भनी सन् २०१२देखि हालसम्म करिव आठ सयजना व्यक्तिबाट करोडौं ठगी गरी फरार भएका मोरङ उर्लावारीका रामबहादुर खड्कालाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय सफल भएको जानकारी दिए ।
त्यस्तै प्रहरीले जेट एयरलाइन्सको एयर होस्टेज हुँ भनी विभिन्न नाममा नक्कली फेसबुक आइडी बनाएर विभिन्न व्यक्तिहरुसँग साथी बनाउँदै प्रेम तथा विवाह गर्ने नाटक समेत गरी केही युवाहरुसँग रकम ठगी गर्ने झापा अर्जुनधारा नगरपालिका–६की तविता राईलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको थापाले बताए । त्यस्तै जिल्लाका विभिन्न स्थानहरुमा एनसेल टावरहरुमा आगजनी तथा विष्फोटन, विष्फोटक पदार्थ भण्डारण, जवरजस्ती चन्दा असुली गर्ने विप्लव समूहका ८ जनालाई कटुवा पेस्तोल २ थान र त्यसमा लाग्ने गोली ४ थान हातहतियार खरखजना, दस्तावेज, ठूलो मात्रामा विष्फोटक पदार्थसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
बिर्तामोडका विभिन्न विभिन्न होटलहरुमा वेश्यावृत्ति हुने गरेको र त्यसमा बालबालिकाको समेत प्रयोग गरिएको जनगुनासो बढेसँगै इलाका प्रहरी कार्यालय अनारमनीले गरेको अनुगमनका क्रममा विभिन्न होटलहरुबाट पाँच जना नावालिकाहरुलाई उद्धार गर्नुका साथै पाँच जना होटल सञ्चालकहरुलाई पक्राउ गरी बालबालिका सम्वन्धी ऐन, २०७५ बमोजिम बालबालिकाविरुद्धको कसूर वमोजिमको मुद्दा चलाएको थियो । प्रहरीले अहिले बिर्तामोडमा हुने वेश्यावृत्ति ८० प्रतिशतले कमी आएको दाबी गरेको छ ।
बिर्तामोडका विभिन्न स्थानबाट लागूऔषध व्राउन सुगर विक्री वितरण तथा ओसारपसारको कार्यमा संलग्न ६ जना कारोवारीहरुलाई पक्राउ गर्न सफल भएको छ । बिर्तामोडलाई लागूऔषधमुक्त क्षेत्र बनाउन आफूहरु लागीपरेको प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ । प्रहरी नायब उपरीक्षक थापाले नेतृत्व सम्हाल्नु अघि नै इलाका प्रहरी कार्यालय बिर्तामोडमा एक बालक झुण्डिएको अवस्थामा फेला परेपछि उक्त स्थानमा प्रहरीले सुरक्षित हिरासत बनाउने योजना अन्तरगत हिरासतमा सीसी क्यामेरा जडान, टेलिभिजनको व्यवस्था, रंग रोगन र ह्यान्डहेल्ड मेटल डिटेक्टर, स्वच्छ खानेपानी समेतको व्यवस्था गरी सुरक्षित र सुविधासम्पन्न नमूना हिरासत कक्ष बनाउन सफल भएको थापाले जानकारी दिए ।
प्रहरीले कन्काई नगरपालिका–४स्थित कन्काई माईपुलमा प्रेसर कुकर बम राख्ने ५ जनाविरुद्ध बम विष्फोटन र संगठित अपराधमा मुद्दा दर्ता गरी सफल अनुसन्धान गरी जिल्ला अदालतमा पेश गरेकोमा दुई जना धरौटीमा छुटेका थिए । प्रहरीको सक्रियताकै कारण जेठ महिनादेखि हालसम्म करिव एक सय ६७ वटा मुद्दा दर्ता भएको र चोरी तथा लागूऔषध मुद्दा वाहेक अन्य अपराध न्यून गर्न सफल भएको प्रहरी नायब उपरीक्षक थापाले दाबी गरे । उनले दशैंको अवधिभर चोरी, लुटपाट, झैझगडा लगायतका आपराधिक घटनामा विगतको तुलनामा कमी आएको बताए ।
अपराध न्यूनीकरणमा सक्रिय भएका थापाले प्रहरी कार्यालयको सुधारमा समेत उल्लेख्य सुधार गरेका छन् । उनले प्रदेश सरकारबाट बिनियोजित बजेटवाट बालमैत्री कार्यालय स्थापनाको लागि चिल्ड्रेन कर्नर, अनुसन्धानात्मक अन्तरवार्ता कक्ष स्थापना गर्नुका साथै नागरिक सहायता कक्ष र जवान मेस निर्माणाधीन रहेकोको जानकारी दिए । प्रहरी नायब उपरीक्षक थापाले समुदाय साझेदारी कार्यक्रम अन्तर्गत स्कुल तथा कलेज तथा विभिन्न समुदायहरुमा ४१ वटा सचेतनामूलक कार्यक्रम, सार्वजनिक सुनुवाई, सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको बताए ।
साथै तिहार, छठ लगायतका चाडपर्वहरुमा हुनसक्ने घटनाहरुको रोकथामका लागि भीडभाड हुने स्थानहरुमा २० हजार सुरक्षा जनचेतनामूलक पर्चा, पम्प्लेट तयार गरी बाँड्ने र माइकिङ गर्ने थापाले बताए । प्रहरीले जस्तोसुकै अपराधमा संलग्नलाई तत्काल पक्राउ गरेकाले प्रहरीप्रति जनविश्वास बढ्दै गएको बताइएको छ । यसैबीच थापाले बिर्तामोडको नेतृत्व सम्हालेपछि शान्ति सुरक्षामा उल्लेख्य सुधार आउनुका साथै ठूला अपराधमा कमी आएको स्थानीयले बताएका छन् ।


















