भारतको आसाममा दुईभन्दा बढी बच्चा जन्माउनेहरुले सरकारी जागिर नपाउने भएको छ ।असामको मन्त्रीमण्डलले गत सोमबार सो निर्णय गरेको हो । उक्त निर्णय आगामी जनवरी १, २०२१ देखि लागू हुनेछ । सानो परिवारको मान्यतालाई स्थापित गर्नको लागि सरकारले उक्त कदम चालेको असामका मुख्यमन्त्री सर्वानन्द सोनोवालको जनसम्पर्क इकाइले जारी गरेको एक वक्तव्यमार्फत् जानकारी दिएको हो ।

सन् २०१७ को सेप्टेम्बरमै आसामको विधान सभाले ‘आसामको जनसंख्या र महिला सशक्तीकरण नीति’ पास गर्दै दुईजना बच्चा हुनेहरुलाई मात्र सरकारी जागिरको लागि योग्य मान्ने व्यवस्था गरेको थियो । साथै, सरकारी जागिरमा रहेकाहरुलाई पनि सोही दुई सन्तानको नीतिलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको थियो ।

त्यसैगरी, आसाममा जग्गासम्बन्धी नयाँ नीति पनि लागू गरिएको छ । त्यसअनुसार, भूमिहीन आदिवासीहरुलाई तीन विगाह जमीन दिने र जमीन नभएका जनतालाई घर बनाउनका लागि आधा विगाहा जमिन दिने जानकारी उक्त वक्तव्यमा दिइएको छ । तर त्यसरी दिइएको जग्गा १५ वर्षसम्म बेचविखन भने गर्न पाइने छैन ।

तपाईको प्रतिक्रिया