काठमाडौं– यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बिहीबारबाट ७ दिनको म्याद थप गर्दै थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

सुदर्शन राज पाण्डेको एकल इजलासले अनुसन्धानका लागि ७ दिनको म्याद थप गर्न आदेश दिएको हो । दोस्रोपटक म्याद सकिएपछि महरालाई आज अदालत उपस्थित गराइएको थियो । अदालतले तेस्रोपटक म्याद थप गरेको हो ।

महरामाथि संघीय संसद सचिवालयमा कार्यरत महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । असोज १२ गते (आइतबार) महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै संसद सचिवालयकी महिला कर्मचारीले त्यसको भोलिपल्ट सोमबार मिडियामार्फत घटना सार्वजनिक गरेकी थिइन् ।

प्रहरीले घटना भएको दिनदेखि नै अनुसन्धान शुरु गरेको जनाए पनि असोज १७ गते महिलाको उजुरी परेपछि मात्रै महरालाई पक्राउ गर्ने प्रक्रिया अगाडि बढाएको थियो ।

जरुरी महत्वको कार्यासञ्चालनका लागि गठन भएको काठमाडौं जिल्ला अदालतको इजलाशले असोज १९ गते महरालाई पक्राउ गर्न अनुमति दिएको थियो ।

तपाईको प्रतिक्रिया