बेलबारी । बेलबारी –७ मा निर्माणाधीन शवदाह गृह ब्यक्तिको नाममा रहेको जग्गामा निर्माण भएको पाईएको छ । शवदाह गृह १ करोड ११ लाख रुपैयाँमा भास्कर कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ । प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा उक्त शवदाह गृह निर्माण भइरहेको हो । हालसम्म ७२ लाख ७३ हजार रुपैयाँ खर्च भएको छ ।
तर, शवदाह गृह बनिरहेको जग्गा भने निजी रहेको पाइएको छ । चिसाङ किनारमा उक्त जग्गा छ । हालसम्म उक्त जग्गा व्यक्तिको नाममै रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गा कार्कीले बताए । ‘म निर्माण समितिको अध्यक्ष भए पनि अहिलेसम्म मलाई केही थाहा छैन,’ कार्कीले भने, ‘नगरपालिकाले ठेक्का लगाएको हो ।’लक्ष्मी कार्कीको नाममा रहेको सो जग्गामा शवदाह गृह नगरपालिकाले बनाइरहेको हो । मोरङको बेलबारी नगरपालिकाका आठौँ तहका अधिकृत महेन्द्र खड्कालाई जिम्मेवारी मुक्त गर्ने कार्यपालिकाको निर्णय पछि यो बिसय बाहिर आएको हो । प्रशासन प्रमुख रहेका खड्काले इटहरीस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सोही बिसयमा उजुरी दिएको फेला परेपछि उनलाई जिम्मेवारी मुक्त गरिएको छ ।
यद्यपि उनलाई जिम्मेवारी मुक्त गर्ने निर्णय गर्दा भने कार्यपालिकाले कुनै कानुनी आधार टेकेको छैन । सोमबार बसेको कार्यपालिकाको १२७ औँ बैठकले खड्कालाई कार्यपालिकाको गोपनीयता भङ्ग गरेको तथा कार्यालयको हित विपरीत काम कारबाही गरेको आरोपमा प्रशासन शाखा प्रमुख पदबाट हटाएको थियो ।
उनलाई अन्यत्र सरुवा लैजानसमेत मेयरसहितका जनप्रतिनिधिले दबाब दिएका छन् । बैठकले निजलाई हालको जिम्मेवारीबाट हटाइ आवश्यक व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने निर्णयसमेत गरेको थियो ।
खड्कालाई मंगलबार प्रमुख प्रशासकीय अधिकृत किरण ढकालले जिम्मेवारीबाट मुक्त गरेको पत्र थमाएका छन् । पालिकाको कर्मचारी प्रशासन शाखा प्रमुखको रूपमा जिम्मेवारी तोकी पालिकाले विभिन्न कामकाज लगाउँदै आएकोमा नगर कार्यपालिकाको मिति यही माघ २८ गते बसेको १२७औँ बैठकको निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि तोकिएका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको बेहोरा पत्रमा उल्लेख छ ।
प्रमुख प्रशासकीय अधिकृत किरण प्रसाद ढकालले भने खड्कालाई कारबाहीभन्दा कारबाहीबाट जोगाउन जिम्मेवारी मुक्त गरेको बताए । कार्यपालिकाले गरेको निर्णय कुन कानुनमा टेकेर गरियो भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, ‘यो कारबाही नै होइन, उहाँलाई विभाग परिवर्तन गरिएको हो । बरु उहाँलाई कारबाहीबाट जोगाउन गरिएको हो ।’
उजुरी दिएको पत्र भने आफूसँग नरहेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए । उजुरीबारे छानबिन नै नगरी कारबाही गरेपछि उपप्रमुख नितु थापा कोइरालाले भने खड्काको पक्षमा नगर प्रमुख राईको विरुद्धमा पत्रकार सम्मेलन नै गरेकी छन् ।
‘जनप्रतिनिधि र कर्मचारीबिचको सम्बन्ध सुधार गरेर जनताको असन्तुष्टिलाई न्यूनीकरण गराउनुको बदला झन्–झन् दुरी बढाउने काम–कारबाहीले कुनै पनि सफलता हासिल गर्न सकिन्न भन्ने कुरा महसुस गरी कार्यसम्पादनमा सबैको उपस्थिति र सहमतिलाई नजरअन्दाज नगर्न अनुरोध गर्दछु,’ उपप्रमुख थापाले भनिन् ।खड्कालाई आफ्नो जिम्मेवारीबाट हटाउँदा स्पष्टीकरण दिने समयसमेत नदिइएको भन्दै उनले विरोध गरेकी छन् ।


















