इटहरी । सुनसरीको इटहरी-२ हवाइचोकबाट शुक्रबार बजार भर्न पुगेकी एक महिलाबाट लुटिएको सुन अभियुक्तले निलेपछि प्रहरीले निगरानीमा राखी थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ। इटहरी-३ की ४७ वर्षीया बेदकुमारी खड्काले घाटीमा लगाएको झन्डै एक तोलाको सुन हवाइचोकमा लुटिएको थियो।
लुटपाटमा संलग्न जिल्ला पर्सा, वीरगन्ज महानगरपालिका-२० का २२ वर्षीय सुनिल कुमार राय र अर्का ११ वर्षीय बालक पिन्टु रायलाई प्रहरीले पक्राउ गरिसकेको छ। प्रहरी कारबाहीबाट बच्न अभियुक्तले सुन निलेपछि दुवैजनालाई निगरानीमा राखी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। महिलाबाट लुटिएको सिक्री ११ वर्षीय बालकले निलेका हुन्।
घटना भएको आधा घण्टाभित्रै अभियुक्तहरू समातिएका थिए। पक्राउपछि लगाएको पोशाक तथा सबै ठाउँ खोज्दा पनि सिक्री फेला परेको थिएन। प्रहरी कारबाहीबाट बच्न बालकले आफूले सुन निलेको बताएका थिए। तत्काल गरिएको भिडियो एक्स-रेमा पेटमा देखिएपछि उनलाई इटहरीस्थित एक निजी अस्पतालमा राखिएको छ।
निलेको सिक्री सजिलै गल्न नसक्ने भएकाले शौचमार्फत बाहिर निस्कन सक्ने, अन्यथा अपरेशन गर्नुपर्ने सो अस्पतालका एक चिकित्सकले बताएका छन्। हाल सिक्री निलेका बालकको स्वास्थ्य अवस्था सकारात्मक रहेको उनले जानकारी दिए।


















