राष्ट्रिय प्रजातन्त्र दिवस आज । २००७ सालको जनक्रान्तिले नागरिकलाई अधिकारसम्पन्न बनाएको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते मुलुकभर विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउने गरिन्छ ।
प्रजातन्त्र महान सहिदहरूको बलिदानी, त्याग र संघर्षको प्रतिफल हो । जनक्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको आधारशिला तय गरेर नागरिकलाई अधिकारसम्पन्न बनाएकाले पनि प्रजातन्त्र दिवसको ठूलो महत्व छ ।
जहानियाँ राणा शासकहरुले सहिद दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीलाई फाँसी दिएका थिए । तिनै महान तथा ज्ञात अज्ञात सहिदहरुप्रति प्रजातन्त्र दिवसका अवसरमा श्रद्धासुमन अर्पण गर्ने गरिन्छ ।
सदिहहरुले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेसँगै जनक्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै विविध कार्यक्रम र उल्लाससहित प्रजातन्त्र दिवस मनाउन थालिएको हो । प्रजातन्त्र स्थापना भएको ७४ वर्षपछि सार्वभौम नेपाली नागरिकले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत आफ्ना अधिकारको अभ्यास गरिरहेका छन् ।
२००७ सालको जनक्रान्तिले नै नागरिकलाई अधिकारसम्पन्न बनाउने जग बसाएको हो । संवैधानिक रूपमा प्रजातान्त्रिक व्यवहार अनुसार नागरिकका अधिकार स्थापित गर्ने कामको बलियो थालनी २००७ को जनक्रान्तिले गरेको अग्रजहरु बताउँछन् ।जनक्रान्तिको जगमा टेकेर नेपालमा लोकतन्त्र, गणतन्त्र, संघीयता, समानुपातिक, समावेशीसहितको नागरिकलाई अधिकारसम्पन्न बनाउने व्यवस्थाको अभ्यास आरम्भ भएको हो । देशमा पछिल्लो ७ दशकमा विभिन्न चरणमा राजनीतिक परिवर्तन र शासकीय स्वरूपमा रूपान्तरण भएका छन् ।
तर, त्यत्रो परिवर्त हुनुको पछाडि २००७ कै जनक्रान्ति हो । नेपालको इतिहासमा मानव अधिकार, जनअधिकार र देश विकासको मेरुदण्डका रूपमा ७ दशकअघिकै जनक्रान्तिलाई लिने गरिन्छ ।जनक्रान्तिपछि राजनीतिक, सामाजिक, आर्थिक रूपान्तरणतर्फ मुलुक अघि बढेको थियो । नागरिकलाई सार्वभौम बनाउने र नागरिकले आफ्ना प्रतिनिधि आफैँले छान्न पाउने व्यवस्थाको आरम्भ भएको दिनका रूपमा पनि फागुन ७ गतेलाई लिने गरिन्छ ।

तपाईको प्रतिक्रिया