मोरङको उर्लाबारीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–७ अरनिको अस्पतालनजिकै दुर्घटना भएको हो । झापाको दमकबाट उर्लाबारीतर्फ आएको को १ त ६७८८ नम्बरको ट्याक्टरले उर्लाबारीतर्फ नै आएको मे ६ प ६०७९ नम्बरको मोटरसाइकललाई शनिबार बिहान १०ः३० बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको
छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार झापाको कमल गाउँपालिका–३ का अन्दाजी ६५ वर्षीय नारानारायण श्रेष्ठको मृत्यु भएको हो । ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिएपछि घाइते भएका उनको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा मोटरसाइकल चालक कमल गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय धन्यप्रसाद बराल घाइते भएका छन् । उनको बी एन्ड सीमै उपचार भइरहेको छ ।प्रहरीले दुर्घटनालगत्तै ट्याक्टर र चालक उर्लाबारी नगरपालिका–३ का अन्दाजी २८ वर्षीय शेखर खवासलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलले ‘ओभरटेक’ गर्ने क्रममा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


















