गुल्मी : गुल्मीमा महिना दिनदेखि आमाछोरी सम्पर्क विहीन भएका छन् । जिल्लाको मालिका गाउँपालिका-७ घमिर ठाढुङ्गा निवासी आमा विष्णु सार्की र छोरी अनुजा नेपाली सम्पर्कविहीन भएका हुन्।
गत माघ १८ गते बिहान माइत जान्छु भनेर घरबाट बाहिर निस्केका उनीहरु अहिलेसम्म पनि परिवारको सम्पर्कमा आएका छैनन् । घरबाट निस्केको भोलिपल्टबाट विष्णुको मोबाइल अफ भएका कारण उनीहरूको अवस्था पत्ता लगाउन कठिनाइ भएको घरपरिवारको भनाइ छ ।
उनका श्रीमान ढाले सार्की विगत साढे दुई वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा दुबई थिए । उनलाई कम्पनीले तीन महिना बिदा दियो । बिदामा घर आउने भएपछि उनले पौष १६ गते श्रीमतीलाई काठमाडौं बोलाए । तर विशेष कारणले आफू एयरपोर्टबाटै फर्किनु परेको पीडा सुनाए । ‘जन्मभूमि फर्किने र घरपरिवार भेट्ने कुराले मेरो मन उत्साहित र मुहारमा खुसी छाएको थियो तर,परदेश आफूले भने र देखेजस्तो सजिलो हुँदो रहेन्छ।’, उनले आफूलाई काठमाडौं लिन गएकी श्रीमती छोरी लिएर खाली हात घर फर्किएपछि श्रीमती रिसाएकी थिइन् । उनले भने, ‘मैले फोन गर्दा कुरा भएन अनि यताबाट म्यासेन्जरमा भ्वाइस पठाउँथे उनले त्यही सुन्थिन् तर केही जवाफ दिदैंन्थिन ।’
बाबा र श्रीमान लिन काठमाडौं गएका आमाछोरी खाली हात फर्किएको स्मरण गर्दै यो परिवारलाई दुख: दिने नियत नभई आफूमा बाध्यात्मक परिस्थिति आएको उनले बताए । फेरि बिदा मिलाएर उनी माघ २ गते ४५ दिनको बिदामा घर आएका छन् । उनका तीन छोरी छन् । जेठी र माइली छोरीले गाउँकै देविस्थान माध्यमिक विद्यालयमा पढ्छन् ।
श्रीमती र छोरीको बारम्बार खोजी गरिरहेको उनी बताउँछन् । अहिले श्रीमतीले प्रयोग गर्दै आएको मोबाइल फोन अफ छ । आमाछोरी सम्पर्कविहीन भएको १० दिनसम्म केही पत्ता नलागेपछि उनले खोजीका लागि मर्भुङ्ग प्रहरी चौकी सिमलटारीमा निवेदन दिएका छन् । उनीहरू हराएको करिव महिना दिन बित्न थाल्यो तर केही पत्ता लागेको छैन । श्रीमती र आफ्ना आफन्तलाई खबर गरेका छन् । अहिलेसम्म पनि सम्पर्कमा नआएपछि खोजी गरिदिन परिवारले सबैलाई आग्रह गरेको छ ।
विष्णुको माइत मदाने गाउँपालिका-४ बाझकटेरी सिम्लेपाटा हो । ‘घरमा आएको महिना बित्यो, श्रीमती र कान्छी छोरी सम्पर्कमा छैनन् । घर र मन अँध्यारो छ’, उनले भने। उनको आउँदो २६ फागुन दुबइ उड्नु पर्ने छ।
महिना दिनदेखि सम्पर्कविहीन भएका गुल्मीको मालिका गाउँपालिका-७ ठाढुङ्गा निवासी आमा विष्णु सार्की र छोरी अनुजा नेपाली। तस्बिर : मनोज कार्की।


















