मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले उपाध्यक्ष र वडाध्यक्षले प्रयोग गर्ने सवारीसाधनको चाबी खोसेका छन् । खोला ठेक्का नलागेको निहुँमा माझीले उपाध्यक्ष गुणवतीदेवी थारुसहित वडाध्यक्षहरुले प्रयोग गर्ने सवारीको चाबी खोसेका हुन् ।
अध्यक्ष माझीले सवारी खोस्नुको मुख्य कारण भने कार्यपालिकाको निर्णयविरुद्ध उपाध्यक्षसहित वडाध्यक्ष अदालतमा पुग्नु हो । गत माघ ३० गते कार्यपालिका बैठक मार्फत लोहन्द्रा खोला ठेक्का पाएरपनि सम्झौताका लागि नआएका ठेकेदारको धरौटी जफत गरी कालोसूचीमा राख्न सिफारिस गर्ने र नयाँ ठेक्का आह्वान गर्ने निर्णय गरेको थियो ।
कार्यपालिका सदस्यलाई तीन दिनअगाडि नै बैठकको सूचना नगरी अल्पमतका आधारमा निर्णय गरेको भन्दै उपाध्यक्ष चौधरीसहित वडाध्यक्षले उच्च अदालतमा रिट दायर गरेका थिए । उच्चले पालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेशपछि खोला ठेक्का लगाउने प्रक्रिया रोकिएको छ । पालिकाको आन्तरिक आम्दानीको स्रोत बन्द भएका कारण जनप्रतिनिधिको सवारी फिर्ता गरेको अध्यक्ष माझीले बताए ।
ग्रामथान कार्यपालिका बैठक आज पनि बसेको थियो । कार्यपालिका बैठकमा राखिएका ६ मध्ये दुई प्रस्तावमा असहमति जनाएका कारण सवारीको चाबी खोसिएको उपाध्यक्ष चौधरीले बताइन् । उनका अनुसार बहुपोषण कार्यक्रम र लोहन्द्रा खोला ठेक्काको विषयमा असहमति जनाएपछि बैठक स्थगित गर्दै अध्यक्षले सहयोगी खटाएर सवारीको चाबी खोसेका हुन् ।उनले आफूले पनि गाडी नचढ्ने बताएका छन् ।गत मंसिर १६ को उपनिर्वाचनमा माझी नेकपा (माओवादी केन्द्र)बाट अध्यक्षमा बिजयी भएका थिए ।

तपाईको प्रतिक्रिया