२१ फागुन, काठमाडौं । पछिल्लो पटक दैनिक उपभोग्य खाद्य सामग्रीको भाउ घट्न थालेका खबरले उपभोक्तामा खुसी सञ्चार भइरहेको छ ।
पछिल्लो चार महिनायता नेपालीको भान्सामा अनिवार्य रहेको चामलको भाउ निरन्तर ओरालो लागेको खबर सार्वजनिक हुँदा जसरी उपभोक्ता खुसी छन्, त्यसैगरी खुसी बनाउने अर्को खबर आएको छ ।
नेपालीको भान्सामा धेरै खपत हुने खाद्यवस्तुमा पर्छ दाल तथा गेडागुडी । हो, दाल तथा गेडागुडीको भाउ पनि घटिरहेको छ । तर, अहिले भर्खरैदेखि होइन, पछिल्लो दुई महिनायता भाउ घटिरहेको सम्बद्ध व्यवसायी बताउँछन् ।
खुद्रा व्यापारीहरूको छाता संगठन नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले दाल तथा गेडागुडीको भाउ घटिरहेको जानकारी दिए ।
‘दाल तथा गेडागुडीको भाउ दुई महिनायता निरन्तर घटिरहेको छ,’ तुलाधरले अनलाइनखबरसँग भने, ‘यो पनि उपभोक्ताका लागि खुसीको खबर हो ।’
बजारमा रहर दालको भाउ घटेको खुद्रा व्यापार संघले उपलब्ध गराएको तथ्यांकले देखाउँछ ।
संघले प्रत्येक महिना १ र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्छ । १५ दिनअघिको तुलनामा रहर दाल किलोमा १० रुपैयाँले घटेको छ । १ फागुनमा बजारमा रहर दाल किलोको १ सय ६० रुपैयाँ थियो । १५ फागुनको तथ्यांक अनुसार रहर दाल १ सय ५० रुपैयाँमा झरेको छ ।
संघका अनुसार मासको दाल पनि किलोमा ५ रुपैयाँले घटेको छ । १५ दिनअघि किलोको २ सय ५ मा कारोबार भएको मासको दाल अहिले २ सय रुपैयाँमै किन्न पाइन्छ ।
त्यसैगरी मुसुरो दालको भाउ पनि घटेको छ । बजारमा मुसुरो दाल १ नम्बर र २ नम्बर गरी दुई किसिमका आउँछ ।
१५ दिनअघि १ नम्बर मुसुरो दालको भाउ किलोको १ सय ७० र २ नम्बर मुसुरोको १ सय ६० रुपैयाँ पर्थ्यो । तर, अहिले क्रमशः १ सय ६५ र १ सय ५० रुपैयाँमै किन्न पाइन्छ ।
त्यस्तै गेडा मुगी, छाटा मुगी र चना दालको मूल्य भने स्थिर छ । अहिले बजारमा गेडा मुगी किलोको १ सय ७० तथा छाटा मुगी र चना दाल किलोको १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
पुस र माघ महिनामा गरी मुसुरोको दालमा ८ देखि १० रुपैयाँ घटेको छ । यस्तै मासको दालमा २५ रुपैयाँ र रहर दालमा ५० रुपैयाँ घटेको छ ।
दालको स्वदेशी उत्पादन नगन्य मात्रामा छ । भारत लगायत अन्य देशबाट नेपालमा दाल आयात हुँँदै आएको छ ।
६ मंसिर २०८१ मा बसेको मन्त्रिपरिषद् बैठकले दाल तथा गेडागुडी आयातमा लाग्दै आएको १० प्रतिशत अग्रिम कर घटाएर २.५ प्रतिशत कायम गर्ने निर्णय गरेको थियो ।
सरकारले अग्रिम कर घटाएसँगै दाल तथा गेडागुडीको मूल्य ७.५ प्रतिशतले घटेको हो ।
सरकारले अग्रिम कर घटाएपछि दाल र गेडागुडीको भाउ दुई महिना अवधिमा प्रतिकिलो ३० देखि ५० रुपैयाँसम्म घटेको नेपाल चामल, तेल, दाल उद्योग संघका उपाध्यक्ष राहुल अग्रवाल बताउँछन् ।
उनका अनुसार पुस र माघ महिनामा गरी मुसुरोको दालमा ८ देखि १० रुपैयाँ घटेको छ । यस्तै मासको दालमा २५ रुपैयाँ र रहर दालमा ५० रुपैयाँ घटेको छ ।
चाडबाड सकिएपछि भाउ ओरालो
नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघ अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ चाडपर्व सकिएपछि दाल तथा गेडागुडीको मूल्य क्रमशः घट्दो क्रममा रहेको बताउँछन् ।
‘यतिबेला महँगी छ भनेर पीर मानिरहनु परेको छैन,’ अध्यक्ष श्रेष्ठले भने, ‘भान्सामा प्रयोग हुने धेरै खाद्यान्नको मूल्य अहिले घटेको छ, यो हाम्रा लागि खुसीको कुरा हो ।’
सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा दाल तथा गेडागुडी आयातमा १० प्रतिशत अग्रिम कर लगाएपछि उपभोक्ता दोब्बर मूल्य तिर्न बाध्य भएका थिए ।
उनका अनुसार यतिबेला भारतीय बजारमा नै दाल तथा गेडागुडीको भाउ घटेको छ । सरकारले दालजन्य खाद्यान्नमा लगाएको अग्रिम कर घटाएसँगै मूल्य पनि घट्दै गएको हो ।
सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा दाल तथा गेडागुडी आयातमा १० प्रतिशत अग्रिम कर लगाएपछि उपभोक्ता दोब्बर मूल्य तिर्न बाध्य भएका थिए ।
तर, ६ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले दाल तथा गेडागुडी आयातमा लाग्दै आएको १० प्रतिशत अग्रिम कर घटाएर २.५ प्रतिशत कायम गरेपछि उपभोक्तालाई थप सहज भएको हो ।
‘दुई महिनादेखि लगातार दाल तथा गेडागुडीको भाउ घटेको खबरले उपभोक्ताहरू खुसी त हुने नै भए,’ उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ भन्छन्, ‘धेरै समयको अन्तरालमा बजार भाउ घटेको सुन्न पाउँदा हामी पनि हर्षित छौं ।’


















