कोशी राजमार्गअन्तर्गत मोरङको बूढीगंगामा शनिबार राति एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी वायरअगाडि राति १०ः४५ बजेतिर मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङ लेखिएको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर एम्बुलेन्स चालक उदयपुरको पञ्चावती घर भइ मोरङको बूढीगंगा–२ मा बस्दै आएका २४ वर्षीय आशिष राईको मृत्यु भएको हो ।
एम्बुलेन्स दुर्घटनामा परेको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय नेमुवाबाट सइ (प्रहरी नायव निरीक्षक) भुवन श्रेष्ठ नेतृत्वको टोली घटनास्थल पुगेको थियो । श्रेष्ठ नेतृत्वकै टोलीले गम्भीर घाइते अवस्थाका चालकलाई उद्धार गरेर उपचारका लागि विराट शिक्षण अस्पताल पुर्यायो ।
अस्पताल पुर्याउनसाथ राति ११ः०५ बजेतिर चिकित्सकले मृत घोषित गरेको इन्स्पेक्टर लम्सालले बताए । उनका अनुसार तीव्र गतिमा दक्षिणबाट उत्तरतर्फ जाँदै गर्दा आफैं अनियन्त्रित भएको एम्बुलेन्स ‘डीभाईडर’मा ठोक्किएर दुर्घटनामा परेको हुनसक्छ ।
एम्बुलेन्स कहाँबाट कहाँ गएको हो भन्ने यकिन हुन बाँकी रहेको लम्सालले बताए । दुर्घटनामा परेर क्षतिग्रस्त भएको एम्बुलेन्स इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा छ ।तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















