विराटनगर । मोरङको रतुवामाईमा १ जना व्यक्तिले आफ्नै भजितमाथि शनिबार दिउँसो खुकुरी प्रहार गरेका छन् ।
रतुवामाई नगरपालिका–१० सोमबारेका ४२ वर्षीय युवराज सुवेदीले आफ्नै भतिज ४० वर्षीय रामप्रसाद सुवेदीलाई दिउँसो ३ः३० बजेतिर खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । खुकुरी प्रहारबाट रामप्रसादको टाउको र ढाडमा चोट लागेको छ ।
उपचारका लागि विराटनगरको आर्या अस्पतालमा भर्ना गरिएका उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सुरुमा उर्लाबारीको गोदावारी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगर ल्याइएको हो ।
प्रहरीका अनुसार पुरानै पारिवारिक विवादका कारण काकाले भतिजलाई खुकुरीले हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भतिजमाथि खुकुरी प्रहार गर्ने युवराजलाई घटनामा प्रयोग भएको खुकुरीसहित प्रहरीले पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको छ ।


















