सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका मागैन सदाका पूरै परिवार अहिले आफ्नो पहिचान खोज्न ठूलै सङ्घर्ष गरिरहेको छ । नेपालमै जन्मिए, यही हुर्किएँ तर अहिलेसम्म आफू नेपाली भएको कुनै पहिचान नै पाउन नसकिएको ६० वर्षीय मागैन सदाको गुनासो छ ।
घरकै मूली व्यक्ति मागैनको नागरिकता नबन्दा उहाँकी श्रीमती ५५ वर्षीया उर्मिलादेवी सदा, उहाँका जेठो छोरा २२ वर्षीय गोविन्दा, कान्छो छोरा १९ वर्षीय दीपक नागरिकताविहीन छन् । नेपाली भएको प्रमुख पहिचान नै नागरिकता नपाएका ती परिवारका सदस्यहरूले अहिलेसम्म राज्यबाट पाउनुपर्ने सबै सेवासुविधाबाट वञ्चित भएको दुखसो पोख्छन् ।


















